सर्लाही । हरिपुर –३ फरहदवामा सोमबार राति घाइते अवस्थामा भेटिएर अस्पताल पुर्याइएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।
नवलपुर–मलंगवा सडकखण्ड अन्तर्गत फरहदवामा सडक छेउमै गम्भीर घाइते अवस्थामा फेला परेका बेवारिसे युवकको प्रादेशिक अस्पताल मलंगवामा उपचार गर्दा गर्दै आज बिहान मृत्यु भएको हो।
अन्दाजी २२र२५ वर्षको र तराई मुलको जस्तो देखिने ती युवकको नाम, ठेगाना खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
सोमबार राती पौने १० बजेतिर ती युवकलाई प्रहरीले उद्धार गरेर अस्पताल पुर्याएको थियो। युवक घाइते भेटिएको स्थान नजिकै खेतमा लडिरहेको अवस्थामा भारतीय नम्वर प्लेट बीआर ३० एई ०४१२ नम्वरको एउटा मोटरसाइकल समेत फेला परेको छ।
युवकलाई सो मोटरसाइकलले ठक्कर दिएपछि चालक मोटरसाइकल छाडेर भागेको वा युवक आफैँले चलाएको मोटरसाइकल दुर्घटनामा परेको हुनसक्ने आशंका प्रहरीले गरेको छ।
अहिले जिल्ला प्रहरी कार्यालय मलंगवा र इलाका प्रहरी कार्यालय हरिपुरको टोली घटनाको अनुसन्धानमा जुटिरहेको छ।















