काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिज ट्रस बेलायतको कन्जरभेटिभ पार्टीको नेताको रुपमा निर्वाचित भएकोमा बधाई दिएका छन् ।
सोमबार ट्रस कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएपछि प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत उनलाई बधाई दिएका हुन् ।
‘कन्जरभेटिभ पार्टीको नेताको रूपमा निर्वाचित भएकोमा म लिज ट्रसलाई हार्दिक बधाई दिन चाहन्छु जसले उनलाई बेलायतको प्रधानमन्त्री बनाउनेछ,’ प्रधानमन्त्री देउवाले भनेका छन्, ‘लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उहाँसँग काम गर्न म तत्पर छु ।’
विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । यससँगै बेलायतले झन्डै दुई महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । ४७ वर्षीया ट्रसलाई बेलायतकी महारानीले नयाँ प्रधानमन्त्रीको रूपमा मंगलबार नियुक्ति गर्नेछिन् ।
सुरुमा कन्जरभेटिभ पार्टीको दलको नेतामा आठ जना उम्मेदवारी दिए पनि अन्तिममा दुई जनाबीच दलको नेताको लागि निर्वाचन भएको थियो । पार्टीको संसदीय दलको नेताका लागि पार्टी सदस्यहरूले गत शुक्रबार मतदान गरेका थिए ।
सोमबार प्राप्त अन्तिम नजितामा सुनाकाले ६० हजार ३९९ र ट्रसले ८१ हजार ३२६ मत प्राप्त गरिन् । खसेको कुल मत मध्ये ट्रसले ५७।४ प्रतिशत र सुनाकले ४२।६ प्रतिशत मत प्राप्त गरेका थिए ।














