काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री जीवनराम श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने संसदमा आवाज उठेको छ ।
आफ्नो जिम्मेवारी पालना गर्दा सुरक्षागार्डलाई पक्राउ गरी थुनामा राखिएको घटनाको विषयलाई लिएर मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गरिएको हो ।
बैठकको शून्य समयमा बोल्दै डा. विमला राई पौडेलले जनताले तिरेको करबाट तलबभत्ता खाने शासक नभएर सेवक रहेको भन्दै मन्त्री श्रेष्ठले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएकी हुन् ।
‘जनताले तिरेको करबाट सेवासुविधा लिने हामी जनप्रतिनिधि, प्रधानमन्त्री, मन्त्री र सरकारका सबै अंगहरु जनताका सेवक हुन्, शासक होइनन् । दुई दिन अगाडि एक जना विद्यमान मन्त्रीले एउटा कार्यालयमा भिसा लिन जाँदा एउटा गार्डमाथि गरेको अमानवीय व्यवहार एकदमै अस्वीकार्य छ,’ उनले बैठकमा भनिन्, ‘उहाँले ९मन्त्री श्रेष्ठ० सार्वजनिक रुपमा माफी माग्नुपर्छ । राजीनामा त उहाँले दिनुहुन्न मलाई थाहा छ, तर सार्वजनिक रुपमा भने माफी माग्नुपर्छ ।’
आफूहरु शासक नभएर सेवक रहेको स्थापित गर्न पनि मन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने उनको माग छ ।















