धनगढी । यो वर्षको दशै केही मंहगो हुने भएको छ । पछिल्लो १ वर्षको अवधिमा खाद्यान्नदेखि, खानेतेल र तरकारीसम्मको मूल्यसूची हेर्दा गत वर्षको तुलनामा यो वर्षको दसैँ महँगो हुने देखिएको हो ।
गत वर्षको भदौ महिनाको तुलनामा यो वर्षको भदौ महिनामा अधिकांश वस्तुको मूल्य बढेको छ । खाद्यान्न, दलहन र खानेतेल लगायत दैनिक उपभोग्य वस्तुको खुद्रा व्यापार गर्दै आइरहेको खुद्रा व्यापार संघका अनुसार गत वर्षको तुलनामा अधिकांश वस्तुको मूल्य बढेको छ ।
बडादशैँको मुखमै महंगी बढ्दा दशैँ मनाउन सहज नभएको उपभोक्ता बताउँछन् । चाडपर्वको मुखमा अत्यावश्यक वस्तु तरकारी, फलफुल, माछामासु, दाल चामल र लुगाकपडामा व्यापारीले आफुखुसी मूल्य तोकिरहेका छन् । बजार अनुगमन फितलो भएको उपभोक्ताको गुनासो छ ।
संघले उपलब्ध गराएको सूचीअनुसार यो वर्ष दाल, चामल, गेडागुडी, खानेतेल लगायत सबैजसो वस्तुको मूल्य बढेको छ । यसैगरी, कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार सबैजसो तरकारीजन्य वस्तुको मूल्य समेत बढेको छ ।
खाद्यान्न
अघिल्लो वर्षको भदौ १५ गतेको तुलनामा यो वर्षको भदौ १५ गतेसम्ममा सबै प्रकारका चामलको मूल्य वृद्धि भएको छ । संघका अनुसार पोखरेली चामल, बासमती र जिरा मसिनो चामलको मूल्य प्रतिकिलो न्यूनतम १० रुपैयाँले बढेको छ । यस्तै, ताइचिन चिउराको मूल्य १ वर्षमा प्रतिकिलो २० रुपैयाँले बढेको छ भने सबैजसो दालहरूको मूल्य समेत बढेको संघले जानकारी दिएको छ । संघका अनुसार मासको दाल प्रतिकेजी १० रुपैयाँ, मुसुरको दाल १५ रुपैयाँ र मस्यौरा प्रतिकिलो २५ रुपैयाँले बढेको छ ।
गेडागुडी
यस वर्ष सबैजसो गेडागुडीको मूल्य पनि बढेको छ । खुद्रा व्यापार संघका अनुसार चनाको मूल्य गत वर्षको भदौ १५ को तुलनामा प्रतिकिलो २५ रुपैयाँले बढेको छ । यस्तै, केराउको मूल्य किलोमा ३५ रुपैयाँले, राजमाको मूल्य किलोमा १० रुपैयाँले बढेको छ । यसैगरी, सेतो सिमीको मूल्य भने प्रतिकिलो ४० रुपैयाँसम्मको मूल्यवृद्धि देखिएको छ । यस्तै, बोडी प्रतिकेजी १० रुपैयाँले बढेको छ भने मुगीको गेडा र मस्याङको मूल्य भने स्थिर छ ।
खानेतेल
यो १ वर्षको अवधिमा सबैभन्दा धेरै मूल्यवृद्धि भएको वस्तु खानेतेल हो । यस अवधिमा भुटेको तोरी तेलको मूल्य प्रतिलिटर ४० रुपैयाँ बढेको छ भने काँचो तोरीको तेलको मूल्य लिटरमा ११० रुपैयाँले बढेको छ । यस्तै, भटमासको तेलको मूल्य १५ रुपैयाँ प्रतिलिटर बढेको छ । सनफ्लावर तेलको मूल्य लिटरमा ५० रुपैयाँ बढेको छ भने डाल्डा घ्यूको मूल्य लिटरमा ८० रुपैयाँसम्म वृद्धि देखिएको छ । यस्तै, नेपाली घ्यूको मूल्य प्रतिलिटर ३०० रुपैयाँसम्म बढेको संघले जानकारी दिएको छ ।
प्याजदेखि धनियाँ सम्मको मूल्य आकाशियो
चाडपर्वहरु सुरु भएसंगै बढ्न लागेको दैनिक उपभोग्य बस्तुको मूल्य दशैंसम्म आइपुग्दा थप आकाशिएको छ ।
दशैं तिहारमा दैनिक उपभोग्य बस्तुको बढी माग हुने गरेको अवस्थामा त्यसको फाइदा उठाउँदै व्यापारीहरुले मूल्य वृद्धि गर्ने गरेका छन् । त्यो क्रम यसवर्ष पनि दोहोरिएको छ । धनगढीमा खाद्यान्न, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ता मर्कामा परेका छन् ।
यस पटक सबैभन्दा बढी प्याजको मूल्य आकाशिएको छ । प्याजको मूल्य एक महिनाको अन्तरालमा चार गुणा बढी बृद्धि भएको छ ।