पोखरामा भीषण असिनापानी, जनजीवन प्रभावित (तस्बिरहरु)

पोखरामा आज दिउँसो परेको बाक्लो असिना पानीले जनजीवन प्रभावित बनायो । दिउँसो १ बजेदेखि असिना पर्न सुरु गरेकामा साँझ साढे ४ बजेसम्मनै निरन्तर पर्दा पोखराका अधिकांश सडकहरु असिनाले सेताम्मे भएका छन् ।

सडकमा बाक्लो असिना जमेको छ । पोखराका सडकहरुमा बाक्लो असिनाका कारण यातायात अवरुद्ध भएर ट्राफिक जाम भएको थियो । फागुनको पहिलो सातामै परेको असिनाले हिउँदे र बेमौसमी तरकारी तथा थन्काउने बेलाको आलुमा नोक्सानी पुगेपछि कृषक मर्कामा परेका छन् ।

पोखराको मुख्य बजार क्षेत्र महेन्द्रपुल, चिप्लेढुङ्गा, न्युरोड, नयाँबजार, सिर्जनाचोक, रानीपौवालगायतका क्षेत्रका सडकमा बाक्लो असिनाका कारण यातायात सञ्चालनमा कठिनाइ भएपछि एक्साभेटरको सहायताले असिना हटाएर यातायात सहज बनाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सडकमा असिना जमेर गाडी गुड्न अप्ठ्यारो भएपछि प्रहरीले असिना हटाउन सुरु गरेको हो । असिना पानीले सडक अवरुद्ध हुँदा चालक र पैदलयात्रु सडकमै रोकिन बाध्य भएका थिए ।

सम्बन्धित समाचार