आगामी निर्वाचनमा झण्डै १ करोड ८० लाख मतदाता सहभागी हुने

काठमाडौं । आसन्न मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पौने २ करोड मतदाता सहभागी हुन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताको संख्या कायम भएको हो ।

यो आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ का लागि निर्वाचन घोषणा भएको मिति २०७९ श्रावण १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी २०७९ मंसिर ३ गते सम्ममा १८ वर्ष उमेर पूरा हुने मतदाताको संख्या हो ।

जसमा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला र ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष तथा १ सय ८५ जना अन्य गरेर जम्मा मतदाताको संख्या एक करोड ७९ लाख ८८ हजार ५ सय ७० जना रहेका छन् । मतदाता नामावलीमा प्रकाशित मतदाताको विवरणलाई सही र त्रुटिरहित बनाउन आयोगको प्रयास गरिरहेको आयोगले जनाएको छ ।