काठमाडौंमा नाबालिकालाई जबरजस्ती यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोले टोखामा सुर्खेत खाजाघर सञ्चालन गरि बसेका दार्चुला घर भएका २९ वर्षीय लोकेन्द्र बडु र सर्लाही घर भएकी ३७ वर्षीया कान्छीमाया घिसिङलाई पक्राउ गरेको हो ।
उनीहरूले नाबालिकाहरूलाई सुरूमा वेटरको काम लगाउने भन्दै जागिरमा लगाएको प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले जानकारी दिए ।
यसरी जागिरमा लगाइसकेपछि विभिन्न किसिमको डर र प्रलोभन समेतमा पारी यौन व्यवसायमा लगाउने गरेको अनुसन्धानबाट खुलेको हो । सञ्चालकले ग्राहकबाट ५ हजार देखि ८ हजारसम्म लिने गरेको पनि अनुसन्धानबाट खुलेको छ ।
उनीहरुले खाजाघरमा आउने ग्राहकसँग खाजाघरमा नै रहेको कोठामा वा ग्राहकले चाहेमा बालिकालाई गेष्ट हाउसमा समेत पठाई यौन व्यवसायमा लगाएको पाइएको छ । प्रहरीले यस बारेमा सूचना पाएपछि ब्युरोको टोली मंगलबार उक्त ठाउँमा पुगेको थियो । त्यहाँ एक जना नाबालिका फेला परेकी थिइन् ।
ती नाबालिकालाई गत वर्ष कात्तिक महिनादेखि काममा लगाउने भन्दै जबरजस्ती यौन व्यवसायमा लगाएको खुलेको एसपी मिश्रले बताए ।
प्रहरीले तत्कालै ती नाबालिकाको उद्धार गरेको थियो । त्यसलगत्तै प्रहरीले दुबै सञ्चालकलाई पक्राउ गरेको हो ।
पीडितको जाहेरीको आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ ।