काठमाडौं । छैटौं साफ महिला च्याम्पियनसिपको फाइनलमा सोमबार घरेलु टोली नेपालले बंगलादेशसँग दशरथ रंगशालमा खेल्दैछ । फाइनल जसले जिते पनि नयाँ विजेता बन्नेछ । च्याम्पियन बन्ने टिम साफ महिला च्याम्पियनसिपको दोस्रो विजेता टिम हुनेछ ।
अहिलेसम्म भएको पाँच वटै संस्करणको उपाधि जितेको भारत सेमिफाइनलबाटै बाहिरिएपछि नेपाल र बंगलादेश सामु नयाँ इतिहास बनाउने अवसर छ । त्यसका लागि दुवै टोली तयार भइसकेका छन् ।
यसअघि नेपालले चार पटक फाइनल खेल्दा चारै पटक भारतसँग पराजित भएको थियो । यस्तै एक पटक फाइनल पुगेको बंगलादेश पनि भारतसँग नै पराजित भएको थियो । दुवै टोलीले फाइनल पुग्नुअघि यस पटक भारतलाई नै पराजित गरिसकेका छन् ।
आइतबार भएको प्रि म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र कप्तानले उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् । नेपालमा लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिप आयोजना भएको हो । सन् २०१९ विराटनगरमै भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।
दोस्रो पटक फाइनल पुगेको बंगलादेश नेपाल विरुद्ध खेल्नका लागि तयार छ । यस संस्करणमा बंगलादेशले टेक्निकल्ली उत्कृष्ट प्रदर्शन गर्दै आएको छ । भारतलाई सेमिफाइनलमा नेपालले पराजित गर्नुअघि नै बंगलादेशले समूह चरणमा पराजित गर्दै भारतको साफमा २५ खेलको अपराजित यात्रालाई ब्रेक लगाइदिएको थियो ।