झापामा १२ कक्षाको परीक्षा दिएर फर्किरहेकी छात्रामाथि आक्रमण

झापाको दमकमा कक्षा १२ को परीक्षा दिएर फर्किरहेकी एक छात्रामाथि आक्रमण भएको छ ।

उदयपुरको लिङचिङबुङ गाउँपालिका वडा नम्बर ३ घर भई दमक नगरपालिका वडा नम्बर ५ मा डेरा गरी बस्दै आएकी १८ वर्षीय एनिका अधिकारीमाथि शुक्रबार आक्रमण भएको हो ।

हिमालय मावि परीक्षा केन्द्रमा परीक्षा दिएर फर्कदै गरेकी अधिकारीमाथि शुक्रबार मध्याह्न करिब १२:३० बजे दमक नगरपालिका वडा नम्बर ५ स्थित ज्येष्ठ नागरिक भवन अगाडि आक्रमण भएको थियो । उनलाई दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका लागि पठाइएको छ ।

अधिकारीको पेटमा गोलीको छर्रा जस्तो वस्तु लागेको छ । प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाका अनुसार उनको शरीरका दुई ठाउँमा चोट देखिएको र प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरी गोली लागेको करिब निष्कर्षमा पुगेको छ ।

उनले भने, ‘आक्रमणकारीको पहिचान भइसकेको छ, नाका सिल गरेर खोजी जारी छ ।’