मुख्यमन्त्रीले विश्वासको मत नपाउने भएपछि सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी विश्वासको मत पाउने अवस्था नभएपछि प्रदेश सभाको बैठक स्थगित गरिएको छ । मुख्यमन्त्री सोडारीलाई विश्वासको मतको प्रायोजनको लागि शुक्रबार बोलाइएको बैठक स्थगित गरिएको हो ।

सभामुख भीमबहादुर भण्डारीले भने, ‘प्राविधिक कारण आजको प्रदेश सभाको बैठक हुँदैन । भोलिसम्म हुने सम्भावना देखिन्छ । जुनकारण आज प्रदेश सभाको बैठक स्थगित भएको छ ।’

कांग्रेसले शुक्रबारको संसद चल्न नदिने धम्की दिइरहेका बेला सत्ता गठबन्धनकै नेकपा एमाले पनि आन्तरिक तयारी नभएको भन्दै शुक्रबार विश्वासको मत दिन नसकिने बताएपछि मुख्यमन्त्री सोडारी सकसमा परेका थिए । केन्द्रमा बनेको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर नागरिक उन्मुक्तिबाट मुख्यमन्त्री अगाडि सारेका समाजवादीका नेता सोडारीलाई अहिले भने आफैं मुख्यमन्त्री बन्दा विश्वासको मत लिन सकस भएको छ ।

आफूलाई मुख्यमन्त्री नबनाएको भन्दै उनी केन्द्रको सत्ता गठबन्धनलाई चुनौती दिँदै कांग्रेससँग मिलेर उन्मुक्तिका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री बनाउन लागेका थिए । उनको कदमले केन्द्रको गठबन्धन हल्लिएको थियो। तर केन्द्रीय नेताहरूबीच समाजवादीलाई मुख्यमन्त्री दिने सहमति भएपछि उनले कांग्रेससँगको समर्थन फिर्ता लिए ।

सोडारी वैशाख ६ गते एमाले, माओवादी, उन्मुक्तिका २ जना र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । अहिले उनैलाई विश्वासको मत लिन सकस भएको छ ।