निलम्बनमा परे लोसपा सांसद शर्मा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मधेस प्रदेश सांसद अभिराम शर्मा निलम्बनमा परेका छन् ।

सशस्त्र प्रहरीका असई थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएका लोसपाका मधेस प्रदेश सभा सदस्य शर्मा निलम्बनमा परेका हुन् ।

मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले उनलाई निलम्बन गरेको मधेस प्रदेश सभा सचिवालयका सचिव अरुण कुमार झाले जानकारी दिएका छन् ।

सचिवालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘महोत्तरी जिल्ला अदालतबाट भएको फैसलामा सो मूनामा प्रतिदी समेत रहनु भएका प्रदेश सभा सदस्‍य अभिराम शर्मालाई अभियोग मागदावी बमोजिम तत्काल प्रचलित मुलुकी ऐन ज्यानसम्बन्धी महलको १ नं. र १३(३) नं‌ बमोजिमको कसूरमा सोही महलको १३(३) बमोजिम जन्मकैद ठहर भएको ले प्रदेश सभा कार्यसञ्चालन नियमालवली , २०७५ को नियम २१० को उपनियम (४) बमोजिम माननीय सभामुखज्यूले मिति २०८१/०१/१८ गते निज माननीय अभिराम शर्मालाई मधेश प्रदेश सभा सदस्‍यको पदबाट निलम्बन गर्ने निर्णय गर्नुभएको यो सूचना सम्बन्धित सबैमा जानकारीका लागि प्रकाशित गरिएको छ ।’