जसपाद्वारा राष्ट्रपतिविरुद्ध आन्दोलन गर्ने घोषणा

जनकपुरधाम – नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध जनता समाजवादी पार्टी (जसपा)ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । जसपाको मधेस प्रदेश कमिटीले राष्ट्रपति भण्डारीको राजीनामा माग्दै चरणबद्ध आन्दोलन घोषणा गरेको हो ।

बिहीबार भर्चुअल मार्फत बसेको जसपा मधेश प्रदेश कमिटी बैठकले शनिवारदेखि चरणबद्ध रुपमा शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको मुख्य सचिव दिनेश यादवले जानकारी दिए ।

असोज ११ गते जसपाका भातृ संगठनहरुले राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गर्दै उनको पुतला जलाउने, १३ गते पालिका स्तरमा अन्तरक्रिया गर्ने र १५, १६, १७ गते पालिका एवं वडा स्तरमा प्रदर्शन गर्ने आन्दोलनको कार्यक्रम तय गरेको छ ।