सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति भएको छ । जिल्लाको दक्षिण पश्चिम स्थित विष्णु –१, बाराउद्योरण गाउँमा बिहीबार भीषण आगलागी भएको थियो । आगलागीबाट स्थानीयको ६१ घरसहित लत्ताकपडा, अन्नपात, नगद र अन्य सरसामग्रीसमेत नष्ट हुँदा दुई करोड १५ लाख बराबरको क्षति भएको बताइएको छ ।

नेपाल प्रहरी, स्थानीय जनप्रतिनिधिलगायतको उपस्थितिमा क्षतिको विवरण आँकलन गरिएको थियो । आगलागीबाट ५७ स्थानीयको घर पूर्णरुपमा खरानी भएको र चार जनाको पक्की घरमा आंशिक क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

आगलागीबाट स्थानीयको दुई मोटरसाइकल, एउटा ट्याक्टरसमेत जलेको छ । विष्णु –१ शत्रुधन राउतको घरबाट सुरु भएको आगोले चन्देश्वर राउत, सामबाबु राउत, जिगिन्द्र राउतलगायत गरी ५७ घर नष्ट भएको प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो लागेको सो आगो राति मात्र पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीबाट भर्खरै खेतबाट ल्याएर भित्राएको सयौँ क्वीन्टल गहुँ तथा घरमा भण्डारण गरेर राखेको अन्य अन्नपात मात्रामा नष्ट भएको छ । आगलागीले क्षण भरमै राउत गाउँ खरानी भएको थियो ।

तीब्र हावा तथा घरमा रहेका सिलिण्डर ग्यास विस्फोटले गर्दा आगो गाउँमा फैलिएको जनाइएको छ । यस्तै आगलागी लगतै पीडित परिवारलाई पालिकाले नजिकैको विद्यालयमा सामूहिक भोजनको व्यवस्था गरेको छ । बासको लागी विद्यालयमा प्रबन्ध गरिएको विष्णु –१ का वडाध्यक्ष विकाउ ठाकुरले जानकारी दिए । धेरै पीडितले गए राती घर डढेकै स्थान नजिकै रात बिताएका थिए ।

पीडितका लागि तत्काल विभिन्न सङ्घसंस्थाको सहकार्यमा त्रिपाल, केही भाडा वर्तन, ओढ्ने ओछ्याउने लगायतका सामग्री वितरणको तयारी गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए । पीडितको दीर्घकालीन व्यवस्थापनको लागि कार्यपालिका बैठकले निर्णय गर्ने उनको भनाइ छ ।