काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर काइराला पक्षका नेताहरुले प्रदेशसभा र प्रतिनिधीसभा निर्वाचनको समानुपातिक उम्मेदवारी चयनमा पार्टीभित्र न्याय नभएको गुनासो गरेका छन् ।
संस्थापन इतर समूहले आज एक कार्यक्रमको आयोजना गरी समानुपातिकतर्फको उम्मेदवार चयनमा संस्थापन समूहले एकलौटी गरेको आरोप लगाएका हुन् । नेता गुरुराज घिमिरेले पार्टीभित्र सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनमा टिकट वितरण गर्नुपर्ने बताए ।
‘पार्टीमा सबैलाई न्याय हुनेगरी आगामी निर्वाचनको टिकट वितरण गर्नुपर्छ, न्यायोचित टिकट वितरण नभए विद्रोह गर्न बाध्य हुन्छौँ’, उनले भने ।
कांग्रेसका अर्का नेता जगदिश्वरनरसिंह केसीले पार्टीको १४औँ महाधिवेशनमा पाएको मतको आधारमा उम्मेदवारी बाँडफाँट हुनुपर्ने बताए। उनले पार्टीभित्र सबैलाई मिलाएर लैजाने काम पार्टी सभापतिको भएकाले सोहीअनुसार पार्टी सभापति अगाडि बढ्नुपर्ने धारणा राखे ।
कांग्रेस नेता भूपेन्द्रजङ्ग शाहीले आगामी निर्वाचनको टिकट वितरणमा पार्टीभित्र न्याय हुनुपर्ने बताए । उनले आफू आगामी निर्वाचनमा कालिकोटबाट निर्वाचन लड्ने घोषणा गरे ।
अर्का नेता भूपेन्द्रजंंग शाहीले बहुमतका बलमा पेले परिणाम राम्रो नहुने बताए ।
‘समानुपातिकको बन्दसूचीमा देउवा पक्षले एकलौटी गरेको छ । हाम्रो पक्षका नेताहरूले ‘नोट अफ डिसेन्ट’ राख्नुभएको छ । अस्ति मात्रै शेखर कोइराला, गगन थापा र धनराज गुरुङको बैठक बसेर समानुपातिक सूचीमा परिवर्तन गरेर हाम्रो समूहलाई ४० प्रतिशतभन्दा बढी हिस्सा नदिए निर्वाचनमा जाँदैनौँ भन्नुभएको छ,’ शाहीले भने, ‘नसच्याए उहाँहरू एकलौटी निर्वाचनमा गए हुन्छ । उहाँहरू केन्द्रीय समितिमा बहुमत छ भन्नुहुन्छ । ४० लाख भोट चाहिन्छ । भोट जनतासँग छ । कहाँ छ बहुमत ?’