काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले ‘सेरेमोनियल’ राष्ट्रपतिले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुईपटक पारित भएर गएको नागरिकता विधेयक प्रमाणीकरण नगर्दा उनीबाट संविधानको पालना हुन नसकेको बताएकी छिन्।
मध्यपुरथिमिमा शंखधर बचत तथा ऋण सहकारी संस्थाको १५औँ वार्षिक साधारणसभामा आज उहाँले संवैधानिक राष्ट्रपतिले संसदबाट पुनः पारित गरी पठाएको विधेयक प्रमाणीकरण गर्नुपर्ने धारणा राखेकी हुन्।
‘नेपालको संविधानले राष्ट्रपति संस्थालाई निर्णय गर्ने र गल्ती गर्ने अधिकार दिएको छैन, राष्ट्रपतिले दुईपटक संसद् भंग गरेर र अहिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर तीनपटक देशलाई गम्भीर संकटतर्फ धकेल्नुभएको छ,’ उनले भनिन्।
मंसिर ४ गतेको निर्वाचन रोकेर देशलाई संकटतर्फ धकेल्न त खोजिएको होइन भन्ने आशंका पैदा भएको भन्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सचेत हुने वेला आएको बताइन्।