युक्रेनमा सेना पठाउन लागेकामा ट्रम्पले गरे पुटिनको प्रशंसा

युक्रेनका दुई इलाकालाई स्वतन्त्र राष्ट्र घोषणा गर्दै त्यहाँ शान्ति सेना पठाउने घोषणा गरेका अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रशंसा गरेका छन् ।

ट्रम्पले पुटिनलाई ‘जिनियस’ संज्ञा दिएका छन् । एक दक्षिणपन्थी रेडियो कार्यक्रम ट्रम्पलाई युक्रेनमा विकसित घटनाक्रमका बारेमा प्रतिक्रिया दिन भनियो । ‘टेलिभिजनमा हेरेँ, मलाई त जिनियस निर्णय लाग्यो,’ उनले भने, ‘पुटिनले युक्रेनको एक ठूलो हिस्सालाई अलग गरिदिएका छन्। त्यसलाई स्वतन्त्र घोषणा गरिदिएका छन् । ओहो, यो अदभूत कुरा हो । पुटिन भन्दै छन्- युक्रेनको एक ठूलो हिस्सा स्वतन्त्र भएको छ ।’

‘मलाई लाग्छ उनी धेरै चतुर छन् । अब उनी युक्रेनभित्र जाने छन् र शान्ति कायम गर्नेछन् । त्यो सबैभन्दा बलियो शान्ति सेना हुनेछ । र, हामी (अमेरिका)ले देशको दक्षिणी सीमामा त्यसको प्रयोग गर्न सक्छौँ,’ पुटिनको प्रशंसामा ट्रम्प रोकिएनन् ।

पूर्वराष्ट्रपति ट्रम्पले यसअघि पनि निरन्तर पुटिनको प्रशंसा गर्दै आएका छन् । र, त्यसलाई आफूलाई पराजित गरेर राष्ट्रपति बनेका जो बाइडेनप्रति उपेक्षाका लागि प्रयोग गर्दै आएका छन् । ‘तपाईंले मान्नुपर्छ, उनी (पुटिन) धेरै समझदार मानिस छन् । र, तपाईंलाई थाहा छ, बाइडेनले यसमा के प्रतिक्रिया दिए ? उनको केही पनि प्रतिक्रिया थिएन,’ ट्रम्पले भने ।

सम्बन्धित समाचार