एकपटक प्रधानमन्त्री बन्ने रामचन्द्र पौडेलको इच्छा

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन्।

गृहजिल्ला तनहुँको दमौलीमा आज उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियामा वरिष्ठ नेता पौडेलले देशको नेतृत्व गरेर जनताको सेवा गर्ने इच्छा रहेको बताएका हुन्।

‘कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र सहास मसँग छ मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्’ उनले भने ।

वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरण पनि गरेका छन्।

निर्वाचन दिन नजिकिँदै गरेकाले कांग्रेस नेतृत्वको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे।