पर्यटनमन्त्री श्रेष्ठ क्यानडा प्रस्थान

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनको ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन्। क्यानडाको मड्रियल सहरमा मंगलबारदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरु सहभागि हुनेछन्।

सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउने कार्यक्रम तय भएको छ। साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नती तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउने छन्।

महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ। महासभा अक्टोबर ७ सम्म चल्नेछ।

केही दिन अगाडी क्यानडाको भिसा लिन जाने क्रममा लाइन नबसेको भन्दै विवाद भएको थियो। सुरक्षाकर्मीले लाइनमा बस्न लगाएसँगै सुरु भएको विवादले ती सुरक्षाकर्मीलाई श्रेष्ठले प्रहरी चौकीसम्म पुर्‍याएका थिए।