दशैँमा २० लाख जनाले काठमाण्डौ उपत्यका छोड्ने अनुमान

काठमाण्डौ – बडादशैँमा काठमाण्डौ उपत्यकाबाट आ–आफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या बढेको छ ।

अहिले दैनिकरूपमा नागढुङ्गा, साँगा भञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार जनाभन्दा माथि रहेको छ । यस पटक दशैँमा झन्डै २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए ।

अघिल्लो दुई आर्थिक वर्षमा कोरानालगायत कारणले दशैँका बेला पनि उपत्यकाबाट बाहिर जानेको सङ्ख्या कम थियो । तीन वर्षअघि काठमाण्डौ उपत्यकाबाट दशैँका अवसरमा घर फर्कनेको सङ्ख्या २० लाख जनाको हाराहारीमा रहेको तथ्याङ्क छ ।

दशैँमा घर जाने यात्रुलाई सहजीकरण गर्न ट्राफिक प्रहरीले गोङ्गबु, चाबहिल, कोटेश्वर, कलङ्कीलगायत उपत्यकाका १४ ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरेको छ ।

यातायात व्यवस्था कार्यालय, यातायात व्यवसायी र ट्राफिक प्रहरीको समन्वयमा स्थापना गरिएका त्यस्ता कक्षबाट गन्तव्यस्थल जान गाडी नपाउने तथा विभिन्न कारणले अप्ठ्यारोमा परेका यात्रुलाई सहजीकरण गर्नेछ ।