संघीयता आवश्यक छैन : रवीन्द्र मिश्र

काठमाडौँ – राप्रपा प्रवेश गरेका रवीन्द्र मिश्रले राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत भएको दावी गरेका छन् ।

बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै विवेकशील साझा पार्टीका पूर्व संस्थापक अध्यक्ष समेत रहेका मिश्रले यो देशमा बढेको विकृतिको जडलाई तोड्न राप्रपाले बोकेको एजेण्डा सहि भएको बताए । उनले ठुला भनिएका राजनीतिक पार्टीहरुले दशकौंदेखि देशमा भ्रष्टाचार, वेथिती र समाजमा अत्याधिक राजनीति भित्र्याएर जडता लादिएको बताए ।

‘यो देशमा धेरै लामो समय विकृतिबाट गाँजियो । नियतिले तपाई र मेरो पुस्तालाई मात्र रजाई गर्न दिएको होइन यो देश’, मिश्रले आफ्नो मार्ग परिवर्तन र राप्रपासँगको मिलनबारे भने, ‘राप्रपाले बोकेको एजेण्डा पश्चगामी छ भन्ने भाष्य गलत छ ।’ उनले ठुला पार्टीले देशका लागि राजनीति नभएकै कारण स्रोत साधन भएको देश बिग्रिएको बताए । उनले भूराजनीतिको फाइदा उठाउँदै धर्म परिवर्तनजस्ता विषयहरु गम्भीर बन्दै गएको बताए । उनले संघीयता धान्न नसक्ने भन्दै राजसंस्था नै देशका लागि उपयुक्त हुने बताए ।

मिश्रले विवेकशील साझाबाट राप्रपामा आफु एक्लै नआएको भन्दै सातै प्रदेशका तह र तप्काका साथीहरु समावेश भएको बताए । त्यसक्रममा उनले राप्रपालाई २१ शताब्दी मैत्री बनाउने प्रयास गर्नुपर्ने भन्दै आउँदो चुनावमा राप्रपा शसक्त रुपमा संसद प्रवेश गर्ने योजना रहेको बताए ।