२ वर्षअघि पर्वतको शंकरपोखरीकी कलावती तिवारी देवरको विवाहका लागि कुश्मा बजारकै एक पसलमा पुगेकी थिइन । कपडा किन्न गएकी उनलाई पसलेले बीमा गर्दा डब्बल पैसा आउने भएकाले बीमा गर्न सुझाए । बीमा गरेपछि पैसा डब्बल भएर आउँछ भन्ने यसअघि पनि धेरैपटक सुनेकी । तर, बिमाको पोलिसीबारे पटक्कै नबुझेकी तिवारीलाई सुरुमा यसबारे खासै चासो थिएन । तर, कपडा किन्न गएकी उनलाई बीमा अभिकर्ता समेत रहेका पसलेले अनेक लालच देखाएर करकापमा पारे । तिवारीले पैसा छैन भन्दा यही कपडा किनेकै पैसाले बीमा गराइदिन मिल्नेसम्म भनेका थिए । विवाहलाई किनेका कपडाकै पैसाले बीमा पनि हुन्छ भनेपछि उनी बीमा गर्न राजी भइन । र, पसलेले भराएको फारममा सही गरेर निस्किइन । बीमा गरेर हिँडेको ३ महिनापछि कपडाको बाँकी रहेको पैसाको बिल आयो । बिलमा सँगै बीमा गरेको पैसा पनि जोडेर पठाएको देखेपछि भने बिमितले झस्किँदै सोधिन कपडा किनेकै पैसाले बीमा हुन्छ भन्नुभएको होइन ? अभिकर्ता व्यापारीले कड्केर प्रतिप्रश्न गरे मैले कपडा किन्दा दिएको पैसा बीमामा हालिदिन्छु पो भनेको तिर्न नपर्ने पनि बीमा हुन्छ ? बल्ल उनले सोधिन त्यसो भए अब मैले वार्षिक कति तिर्नुपर्छ ? पसलेले वार्षिक २३ हजार तिर्ने १७ वर्षको पोलिसी देखाउँदै भने । दुई वर्ष कतैबाट म्यानेज गरेर तिरे तेस्रो वर्ष यसैबाट पैसा निकालेर यसैमा हाल्न मिल्छ । गाउँकै टाठाबाठा र पारिवारिक सम्बन्धका उनीसँग विवाद गर्न भन्दा ऋण खोजेर तिर्ने मनस्थितिले तिवारी पहिलो वर्षको २३ हजार खोजेर तिर्न लागिन ।
फेरि दोस्रो वर्षको पनि तिर्ने समय आयो । तर, आम्दानीको स्रोत थिएन । स्रोत नभेटेर के गर्ने होला सोचिरहेकी उनलाई अभिकर्ताले फेरि सुझाए यो वर्ष तिरे तेस्रो वर्षको लागि म छु, त्यहीबाट निकालेर त्यही तिर्ने बनाइदिउँला । त्यसपछि तिवारीले समूहबाट व्याजको ऋण लिएर दोस्रो किस्ता पनि तिरिन । तर, तेस्रो किस्ता तिर्ने बेला अघिल्लै ऋणको भारले थिचिएकी उनलाई कुनै उपाय चलेन । फेरि फिर्ता लिँदा डबल पाइने सुनाएर बीमा गराएका अभिकर्तासँग सोधिन अब सकिएन हजुरसँग केही उपाय छ की ? घरको पारिवारिक सम्बन्ध, सुख दुःखमा काम लाग्ने स्थानीय व्यापारी र बीमा अभिकर्ता पनि उनै भएकाले केही उपाय निस्कने सोचेर सोधेकी उनलाई अभिकर्ताले भने– त्यसो भए सरेन्डर गरेर पैसा निकाल्नुहोस् । बीमा नियमित गर्न नसकेपछि तिरेको पैसाको ब्याज गुमेपनि साँवा फिर्ता होला र अघिल्ला ऋण तिरुँला भनेर सरेन्डर गर्दा समूहको ब्याज गरेर ४६ हजार बुझाएकी उनको अनेक झमेलापछि न्यून रकम मात्रै फिर्ता भयो । अभिकर्ताको करकापमा पोलिसी नबुझी बीमा गरेकी उनले दुई वर्षमा मुस्किलले जुटाएर तिरेको ४६ हजारको १७ हजार मात्रै फिर्ता भयो बाँकी खै भन्दा कम्पनी भन्छ यो हाम्रो पोलिसीमै उल्लेख छ । जबकि अभिकर्ताले डब्बल पैसा आउने प्रलोभन देखाएर सहिछाप गराउनेबाहेक अभिकर्ताले तिवारीलाई पोलिसीमा के छ भन्ने बुझाएकै थिएनन् ।
कास्की अन्नपूर्ण ४ का प्रविन कुँवर पेशाले होटल व्यवसायी हुन । पोखरा पृथ्वीचोकमा रहेको कुँवर होटल खण्ड लजका सञ्चालक कुँवरको होटलमा एकजना नियमित पाहुना थिए । कृषि विकास बैङ्कका जागिरेसमेत रहेका उनले एक दिन आफु बीमा अभिकर्ता पनि रहेको भन्दै कुँवरलाई बीमा गर्न सुझाए । सुरुमा खासै चासो नदेखाएका कुँवरले बीमा गर्दा अहिले कमाएको केही पैसा बचत पनि हुने भोलि पैसा डबल भएर पनि आउने कुरा कुँवरलाई मन पर्यो । बीमा गरेको पैसा निकाल्न चाहेका बेला निकाल्न पनि सकिने । अवधि पुरा भएपछि थपेर पनि पाउने । र, कनै दुर्घटनामा परे परिवारलाई राहत पनि हुने बुझाइले सुर्यालाईफको बीमा गर्न तयार भएका उनलाई अहिले त्यो भारी परेको छ । राम्रो कारोबार गरिरहेको कुँवरको होटल व्यवसाय कोभिडका कारण बन्द भयो । उनीसँग आम्दानीको अर्को स्रोत छैन । आम्दानीको स्रोत नभएपछि प्रविनलाई दोस्रो किस्ता तिर्ने उपाय थिएन । तर पनि ७ लाख बुझाइसकेपछि यसलाई यसै छाड्न हुँदैन भनेर दोस्रो किस्ता पनि ऋण गरेर तिरेका उनले तेस्रो किस्ता अहिलेसम्म तिरेका छैनन् । व्यापार ठप्प भएपछि स्कुलमा केटाकेटीको शुल्क तिर्न समेत समस्या भएका उनको १४ लाख सुर्या लाईफमा छ । अहिले मोबाइलमा अर्को वर्षको किस्ता नतिरेकाले थपिएको १३ प्रतिशत व्याज र जरिवाना बुझाउने एकपछि म्यासेज पनि आउँछ । तर, कुँवर भने, तेस्रो किस्ताबापतको रकम र यसको व्याज तिरेर अघि जाने सक्ने अवस्थामा पनि छैनन् । कम्पनीको नियमका कारण दुई वर्ष तिरेको १४ लाख सरेन्डर गरेर झिक्न पनि पनि नपाएको गुनासो गर्छन् ।
नुवाकोटका एक युवालाई सूर्यज्योति लाइफकै शाखा प्रबन्धकले एकल पोलिसीमा ठुलो मुनाफा हुने भन्दै बिमा गर्न सुझाए । बीमाको पटक्कै ज्ञान नभएका तर, जग्गा, शेयरजस्ता क्षेत्रमा सानो लगानी गरेर पैसा कमाएका उनलाई मुनाफाको आशले रहर जाग्यो । शाखा प्रबन्धकले नै एकल पोलिसीमा गरेको लगानी घरजग्गा भन्दा मुनाफामा जाने भएकाले बीमामा जोडिन खोजे । तर, साथमा नगद पैसा नभएका उनलाई कम्पनीले गैर कानुनी रूपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको घटना बाहिर आएको छ। यति मात्रै होइन बीमा कम्पनीले गनै नमिल्ने जग्गा धितो राखी ऋण दिएर पुनः सोही ऋण बापतको रकमले एकल बीमा पोलिसी बिक्री गराएको । र, त्यसैलाई पछि सरेण्डर गराउनु ठगी भएको भन्दै यसका बिरुद्ध उजुरी गर्दा समेत कुनै कारबाही भएन । सूर्यज्योति लाइफले २०७७ माघ २१ गते चलानी नं १६१६ बाट मालपोत कार्यालय नुवाकोटलाई पत्र लेखेरै नुवाकोट जिल्ला विदुर नगरपालिका ४ का २२ वर्षीय श्रेष्ठ थरका ऋणीको आमाको नामको जग्गा रोक्का राखेको थियो । पछि ती युवालाई यसरी लिएको ऋणका कारण झन् अप्ठ्यारो भएपछि कम्पनीका प्रतिनिधिले नै सरेन्डर गराएर ठगी भएको हो । यो ठगीमा झट्ट सुन्दा पीडित ऋणी बीमा अभिकर्ताजस्तो देखिए पनि बीमित समेत ठगिएको तथ्य बाहिर आएको थियो । उतिबेला सुर्यज्योति लाइफका न्यूरोड शाखाका प्रमुख प्रदिप लामाले झुक्काएर बीमा गराउनकै लागि अभिकर्ता बनाएको र अभिकर्ता बनाए लगत्तै जग्गा धितो राखी २०७७ साल फागुन २१ गते २७ लाख रुपैयाँ ऋण प्रवाह गरेको र सो रकम मध्ये १७ लाख रुपैयाँको एकल बीमा पोलिसी बिक्री गरेको तथ्य प्रमाणहरूले देखाएको छ । उक्त बीमा पोलिसी दुई वर्षपछि सरेण्डर गराएर जम्मा छ लाख रुपैयाँ मात्रै फिर्ता गरेका थिए । जसका कारण ती युवाले ११ लाख अभिकर्ताले झुक्काएका कारण गुमाउनुपरेको थियो ।
माथिका यी दृश्यले सोझासिधालाई झुक्काएर अभिकर्ता र कर्मचारीले कसरी बीमा भन्दै अप्ठ्यारोमा पारेका छन् भन्ने स्पष्ट हुन्छ । यी प्रतिनिधि घटनाका रूपमा प्रस्तुत तीनवटै दृश्य नेपालको स्थापित बीमा कम्पनी सुर्यज्योती लाइफ कम्पनीका हुन । सुर्यज्योति लाइफका अभिकर्ता र कर्मचारीले झुक्काएर पोलिसी बेच्दा बिमितले ठुलो नोक्सानी भोग्नु परेको छ । बीमाबारे राम्रो नबुझेका ग्राहकलाई धेरै पैसा आउँछ भन्दै पोलिसी भिराउने र पछि पोलिसीमा फरक छ भनेर दुःख दिने गरेको बिमितको गुनासो गरेका छन् । यही कारण एकैवर्षमा सुर्याज्योतिका हजारौँ बिमितले बिचैमा सरेन्डर गरेर अर्कोतर्फ स्विच भएपछि बिमा कम्पनीले ग्राहकलाई झुक्काएको घटना बाहिरिएको हो ।
यी मध्य केही भने कम्पनीले आफ्नो फाइदाका लागि नक्कली बिमा गरेर सरेन्डर गराएको देखिन्छ । जुन गैरकानुनी काम हो । अभिकर्ता र कर्मचारीले ग्राहकलाई तत्कालीन झुक्काएर भिराएका पोलिसी बीमितले बुझेपछि घाटा खाएरै सरेन्डर गर्ने गरेका छन् । यसबाहेक बीमितको आर्थिक अवस्था नहेरी बीमा गराउने प्रवृत्तिले सरेन्डर गर्नेको सङ्ख्या बढेको हो । आर्थिक अवस्थाको मूल्याङ्कन गरेर लिनुपर्ने पोलिसी कतिपय कर्मचारी र अभिकर्ताले झुक्काएर थमाउँदा धेरै बीमित अहिले न किस्ता तिर्न सक्ने । न, त सरेन्डर गर्ने अवस्थामा छन् । नबुझ्ने ग्राहक भेट्दा कम प्रिमियम देखाउने र आफ्नोमा ल्याउने अनि थाहै नदिई अवधि बढाउने कार्यले आफूहरू ठगिएको उनीहरूको भनाई छ ।
बीमा प्राधिकरणमा सूर्यज्योतीबिरुद्ध दर्जन बढी उजुरी छन् । तर, सूर्यज्योतिले गरेका यस्ता ठगीमा नियामक प्राधिकरण भने मौन जस्तै छ । बिमा पोलिसी बेच्दा बिमितको अवस्था र आवस्यकता नबुझी तत्कालीन मुनाफा हेरेर बेच्ने । नक्कली बीमा गराएर नक्कली पीडितलाई भुक्तानी दिने, कानुनमै नभएको इन्स्योरेन्सले जग्गा धितो राखेर बीमा लेख गराउँदा समेत नियामक मौन बसेको आरोप समेत छ । सूर्यज्योतिले कहिले नक्कली वित्तीय विवरण बनाएर कर छली गरेको त कहिले नक्कली बीमा लेख गराएर सरेण्डर गराएका धेरै घटना छन् । जसका कारण सुर्याज्योतिप्रति बिमितको विश्वास घटेर गएको छ । यही कारण पनि होला पछिल्ला वर्ष सूर्यज्योतिको पोलिसी खरिद गरेका धेरै बिमित यसमा सरेन्डर गरेर अर्कोतर्फ स्विच भएका छन् । पछिल्लो तथ्यांकअनुसार गएका ७ महिनामा मात्रै सुर्याज्योतिका २ हजार ५ सय २८ बिमितले ३७ करोड ५४ लाख ६२ हजारको सरेन्डर गरेका छन् । त्यसबाहेक सूर्यज्योतीले बीमा परिपक्व अर्थात् म्याच्योर्ड भएपछि भुक्तानी नदिने र दाबी गरेको बीमाको रकम दिन पनि आलटाल गर्ने गरेको छ । बिमितलाई दाबी भुक्तानी नगर्ने जीवन बीमा कम्पनीमध्येमा सुर्याज्योतिमा धेरै समस्या छ । बीमा दाबी गरेको २ वर्षसम्म भुक्तानी नगरेको बिमित बताउँछन् ।
कमजोर व्यवस्थापनका कारण कम्पनीप्रतिको घट्दो विश्वास । झुक्काएर ग्राहकलाई पोलिसी बेच्नु , अपेक्षित प्रतिफल नआउनुका कारण एकैपटक हजारौँ बिमित सुर्याज्योति छाडेर अन्यन्त्र लागेका हुन । त्यसो त इनस्योरेन्स कम्पनीहरूले कर्मचारी र अभिकर्तालाई दिनुपर्ने शिक्षा र तालिम समेत नदिएरै जसरी हुन्छ बीमा गराउनुहोस् भन्दा यस्ता समस्या अन्य कम्पनीमा पनि देखिएका छन् । यस्ता कम्पनीका कारण इन्स्योरेन्समा हुने ठगी नियन्त्रणका लागि प्राधिकरणले छुट्टै बीमा सूचना केन्द्र स्थापना गर्ने भनिए पनि अहिलेसम्म प्रक्रिया नै अघि बढ्न सकेको छैन । ऐन कार्यान्वयनमा आएको लामो समयसम्म नियमावली नबन्दा केन्द्र स्थापनाको काम अगाडि बढ्न नसकेको हो । इन्स्योरेन्समा हुने ठगीले वित्तीय अपराध मात्रै नभएर सम्पत्ति शुद्धीकरण सम्बन्धी जोखिम समेत बढ्दो छ। इन्स्योरेन्स फ्रडकै कारण नियमनकारी निकायमध्ये एएमएल सीएफटीमा समेत प्राधिकरण कमजोर छ।
प्राधिकरणले इन्स्योरेन्समा फ्रड रोक्न उधारो बीमा पोलिसी बिक्रीमा कडाइ, ग्राहकको विवरण, जोखिमयुक्त बीमितको मूल्याङ्कन गर्न कम्पनीहरूलाई निर्देशन दिए पनि वित्तीय अपराध नियन्त्रणका लागि निर्देशनले मात्रै नपुग्ने विज्ञहरूको भनाइ छ ।
सूर्यज्योति लाइफले भने आफूले ग्राहकलाई झुक्काएर पोलिसी बेच्ने आरोपको खण्डन गरेको छ । आफूहरूले अभिकर्ता र कर्मचारीलाई पर्याप्त जानकारी दिएर पोलीसी बेच्ने गरेकाले ग्राहकले लगाएको आरोप निराधार भएको कम्पनीका जनसम्पर्क तथा ब्राण्डिङ विभाग प्रमुख मेघेन्द्रप्रकाश गिरीको दाबी छ ।
