आँखा दानको सन्देशका लागि बन्यो चलचित्र ‘थर्ड आई’

नयाँ चलचित्र ‘थर्ड आई’ निर्माण भएको छ । जीवनपछि पनि अरुलाई दृष्टी दिन सकिन्छ भन्ने सन्देश प्रस्तुतिका लागि यो फिल्म बनेको हो । चलचित्रमा सरोज दाहाल, कमला अधिकारी, रेनुका प्रधान, राज अधिकारी, केडी प्रशित, विनोद मिश्र, सुरज पोखरेल, विमला अधिकारी, राजीव न्यौपाने लगायतको मुख्य भूमिका छ ।

आफ्नो दुई आँखाबाट दृष्टी गुमेपछि अरु कसैसँग लिएको तस्रो आँखाले पनि जीवनभर देख्न सकिन्छ भन्ने कुरालाई सबैमाझ पु¥याउन यो चलचित्र निर्माण गरिएको छ । करिब एक घण्टाको यो चलचित्र चितवनबाट निर्माण भएको हो । चलचित्रलाई युवा निर्देशक आसुतोष अधिकारीले निर्देशन गरेका हुन् । यो चलचित्र हेरेपछि नेत्र दानको महत्व दर्शकले बुझ्ने र मृत्युपछि आँखा दान गर्ने विश्वास निर्देशक अधिकारीले लिएका छन् ।

‘यो चलचित्रलाई अब यही फागुनको अन्तिम साताबाट प्रदर्शनी गरिने भएको छ । यो चलचित्रको उद्देश्य भनेकै जीवनपछि आँखादान गर्न सबैलाई प्रेरित गर्नु हो’ यसका निर्माता विनोद मिश्रले बताएका छन् । चलचित्र निकै राम्रो बनेकाले यसलाई दर्शकलाई मन पराउने पनि उनले बताए ।

यो चलचित्रका कार्यकारी निर्माता केडी प्रशितले चलचित्र थर्ड आईबारे भने, ‘संसारमा रहेका मानिसहरु मध्ये १० प्रतिशत मानिसले मात्र पनि मृत्युपछि आँखा दान गर्ने हो भने विश्वमा केही पनि दृष्टीविहिन हुनु पर्दैन । त्यसैले नेत्र दानका लागि प्रेरित गुर्न नै यो चलचित्रको उदेश्य हो ।’ यो चलचित्रलाई उनले व्यवसायिक भन्दा पनि सामाजिक कार्यको रुपमा लिएका छन् ।

विमल लामाको संगीत रहेको थर्ड आईलाई विभिन्न च्यारिटी शो र राष्ट्रिय तथा अन्तराष्ट्रिय महोत्सवमा प्रदर्शन गरिने छ । त्यसपछि मात्र व्यवसायिक रुपमा हलमा रिलिज गर्ने पनि कार्यकारी निर्माता प्रशितले बताए । यो चलचित्रको कथालाई साहित्यकार आरती अधिकारीले लेखेकी हुन् । जसमा रफी शाहको आलेख, सम्राट थापाको पाश्र्व संगीत, मन्दिल श्रेष्ठको सम्पादन, सुजन विसीको छायाँकन छ ।

सम्बन्धित समाचार