राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई समर्थन गरेको भन्दै नेकपा एमालेका रुष्ट कार्यकर्ताले जिल्लास्थित पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् । थापालाई समर्थन गरेको विरोधमा पार्टीको जिल्लास्थित नेतृत्व मौन बसेको भन्दै रुष्ट भएका कार्यकर्ताले हेटौंडा-५ स्थित सानोपोखरामा रहेको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
एमालेले मकवानपुर १ मा राप्रपा नेपालका अध्यक्ष कमल थापालाई प्रतिनिधि सभा चुनावमा समर्थन गर्ने निर्णय गरेको थियो । एमालेले यो क्षेत्रबाट जिल्ला इन्चार्जसमेत रहेका केन्द्रीय सदस्य रामेश्वर रानालाई उम्मेदवार तोकेको थियो । तर अन्तिममा उनलाई फिर्ता गरेर कमल थापालाई समर्थन गर्ने निर्णयमा एमाले पुगेको थियो ।
एमाले कार्यकर्ताले मकवानपुरले थापाको जनमत नभएको भन्दै उनलाई उम्मेदवार बनाउन नहुने बताएका छन् । उनीहरूले थापालाई सहयोग गरेर केन्द्रियता हावी भएको र पार्टी कार्यकर्तामाथि अन्याय भएको आरोप नेतृत्वमाथि लगाएका छन् ।
थापाले मकवानपुर क्षेत्र नम्बर- १ बाट एमालेको चुनाव चिह्नबाट उम्मेदवार उठ्दै छन् ।













