सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठक सुरु भएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन लगायतको उपस्थिति छ ।
यही वैशाख २८ गते संसद्को बर्खे अधिवेशन सुरु हुँदै छ । त्यसअघि सभामुख घिमिरेले सत्ता र प्रतिपक्ष दुवै दलका शीर्ष नेताहरूबीच छलफल भएको हो ।
अघिल्लो अधिवेशनमा नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन माग गरेर बैठक अवरोध गरेको थियो ।
आगामी अधिवेशनमा संसद बैठक विना अवरोध सञ्चालन गर्ने उद्देश्यले सभामुखले दलहरुबीच बैठक राखेका हुन् ।