पशुपतिनाथमा धुमधामका साथ महाशिवरात्रि मनाइँदै छ । महाशिवरात्रि पर्वका अवसरमा मंगलबार बिहानैदेखि चहलपहल बढेको छ ।
यसअघि दुई वर्षसम्म कोरोना संक्रमणका कारण पशुपतिनाथमा महाशिवरात्रि पर्व मेला लागेन । पूजामा कडाइ भयो । विभिन्न समय मन्दिर बन्द गरियो । संक्रमण घटेसँगै यो वर्ष भने तयारी भव्य छ ।
महाशिवरात्रिकै लागि भनेर पशुपतिनाथ क्षेत्र झकिझकाउ पारिएको छ । नेपालकै विभिन्न स्थानसहित भारतबाटसमेत साधुसन्त आइपुगेका छन् । गृहमन्त्री बालकृष्ण खाँण पनि पशुपति दर्शन गर्न गएका थिए । साँझ राष्ट्रपति विद्यादेवी भण्डारी पशुपति दर्शन गर्न जाने कार्यक्रम छ ।
अशक्तरअपाङ्ग र ज्येष्ठ नागरिकहरुलाई भने लाइन नलागी दर्शन गर्न पाउने व्यवस्था मिलाइएको छ । उनीहरुलाई स्वयंसेवामा खटिएका स्काउटका सदस्यले सिधै मन्दिर परिसरमा लैजाने व्यवस्था गरिएको छ ।
हिन्दूहरूले विभिन्न शिव मन्दिरहरू पुगेर आराधना, भजन–किर्तन गरेर र जाग्राम बसेर महाशिवरात्रि पर्व मनाउँछन् । प्रत्येक वर्ष फाल्गुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रि भनी श्री शिवको ज्योतिर्लिङ्ग उत्पन्न भएको रातको रुपमा मनाउने परम्परा छ । यस रातलाई हिन्दू धर्मावलम्बीहरु मानवआत्माले मोक्ष प्राप्त गरेको रातका रुपमा लिने गर्छन् ।