अर्ली इलेक्सनको बारेमा कसले के भने ?

कानुन मन्त्री दिलेन्द्रप्रसाद बडुले संसद अवरोध छोडेर एमाले संसदीय प्रक्रियामा आउने दावी गरेका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री बडुले महाभियोग समितिमा सदस्य पठाएर एमालेले संसदीय प्रक्रिया स्वीकारेको भन्दै संसद अवरोध पनि हट्ने दावी गरेका हुन् ।

त्यस्तै उनले एमालेले लामो समयदेखि संसद अवरोध गरिरहँदा यसको संसदको औचित्यमाथि जनताबाट प्रश्न उठ्ने अवस्था बनेकाले अर्ली इलेक्सनको कुरा उठेको जिकिर गरे । एमाले संसदीय प्रक्रियामा आयो भने संसद पूर्णकालसम्म नै चल्ने उनको भनाई छ ।

यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपर्ने बताएका छन् । आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै अध्यक्ष नेपालले लगातार सदन अवरुद्ध भइरहेको अवस्थामा संसद भंग गरेर तीनै तहको निर्वाचन प्याकेजमा गर्नेबारे छलफल गरिरहेको समेत बताए ।

उनले एमालेले संसद् पनि चल्न नदिने, संसदमा गञ्जागोल कायम राख्ने, पंगु बनाउने काम गरिरहेको बताएका छन् । यस्तो अवस्थामा संसद् विघटन गरेर अर्ली निर्वाचनमा जानु नै उत्तम बिकल्प हुने उनको भनाई छ ।

त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले अचानक अर्ली इलेक्सनको बहस स्थानीय तह निर्वाचन सार्ने षड्यन्त्र हुनसक्ने बताए । उनले एमाले सदैव संसदीय प्रणालीमा विश्वास गर्ने भन्दै यसलाई स्थापीत गर्नका लागि सदनमा बिरोध जनाएको जिकिर गरेका छन् । नेम्वाङले महाभियोगको प्रक्रियालाई ठिक ढंगले निष्कर्षमा पुराउन समितिमा नाम दिएको उल्लेख गरे ।

त्यस्तै नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बैशाखमा स्थानीय चुनाव घोषणा भइसकेकाले अर्ली इलेक्सन सम्भव नरहेको स्पष्ट पारेका छन् ।

वैशाखमा स्थानीय तहकै चुनाव हुने अवस्थामा त्यसपछि लगत्तै अर्को चुनाव गर्न मौसमले पनि साथ नदिने उनको भनाई छ ।

सम्बन्धित समाचार