नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्रीको अफर आए आफू पछि नहट्ने बताएका छन्। मंगलबार काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा विजयी भएका नेता सिंहले विजयपछि नेता, कार्यकर्ताहरुसँगको शुभकामना आदानप्रदानका क्रममा सिंहले आफू हरेक कोणबाट प्रधानमन्त्रीका लागि योग्य रहेकाले प्रस्ताव आए पछि नहट्ने बताए।
‘नयाँ संविधान जारी गरिसकेपछिको प्रथम आम निर्वाचनमा पनि म नेपाली कांग्रेसको संसदीय दलको नेताको लागि प्रतिस्पर्धा गरेकै हो । देशभरबाट कांग्रेसको सांसद जितेर आएकाहरुको छलफल हुन्छ । संसदीय दलको नेताको लागि छान्न प्रोसेस जान्छ,’ उनले भने, ‘विधि र प्रसेसमा गइसकेपछि सबै साथीहरुसँग सल्लाह गरेर गर्नेकुरा हो । परिस्थिति फरक भइरहेको छ । म प्रधानमन्त्रीको योग्य छु, अवसर पाएमा च्यालेन्ज मिट गर्नको लागि अफर आयो भने पछि हट्ने कुरा आउँदैन।’
उनले जनताले दिएको विश्वासलाई गुम्न नदिने बताए। आम मतदाताहरुका लागि जनप्रतिनिधिहरुसँग गुनासो पोख्ने, सुझाव दिन पाउने गरी गुनसो सुन्ने काममा आफू निरन्तर लाग्ने बताए । उनले खानेपानीको समस्या समाधान गर्न मेलम्चीको पानी काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा छिटो ल्याउनका लागि काम गर्ने बताए ।