काठमाडौं । आफ्नो तेल आपूर्तिमा पश्चिमा देशहरुले प्रतिबन्ध लगाए जर्मनी जाने ग्यासको मुख्य लाईन बन्द गर्ने चेतावनी रुसले दिएको छ ।रुसबाट तेल निर्यातमा प्रतिबन्ध लगाउने विषयमा अमेरिकाले आफ्नो गठबन्धनमा छलफल थालेपछि रुसले यस्तो चेतावनी दिएको हो । तर अमेरिकाको प्रस्तावलाई जर्मनी र नेदरल्याण्डले भने अस्वीकार गरिसकेका छन् । युरोपेली देशहरुको ४० प्रतिशत ग्यास र ३० प्रतिशत तेलको आवश्यकता रुसबाट आपूर्ति हुँदै आएको छ ।
रुसी उपप्रधानमन्त्री अलेक्जेण्डर नोभाकले रुसको तेल निर्यातमा प्रतिबन्धको अर्थ विश्वलाई उकुसमुकुस अवस्थामा पुर्याउनु हो भन्दै त्यसपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल ३ सय डलर पुग्ने बताए। रुसी सरकारी टेलिभिजनबाट बोल्दै नोभाकले तत्काल युरोपमा रुसी तेल र ग्यासको विकल्प नरहेको पनि प्रष्ट पारे ।
अमेरिकी उक्साहटमा लाग्नुको परिणाम युरोपेली जनताले भोग्नुपर्ने भन्दै उहाँले त्यसले अन्ततः युरोपलाई नै तहसनहस बनाउने पनि चेतावनी दिएका छन् ।