चुनाव जितेपछि रवीन्द्र अधिकारीको सालिकमा माल्यार्पण गर्दै विद्या

पर्वत – कास्कीको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभामा विजयी भएपछि विद्या भट्टराईले स्व. पति रवीन्द्र अधिकारीको सालिकमा पुगेर माल्यार्पण गरेकी छिन्।

भट्टराईले पोखरा महानगरपालिका–१८ जामुनाबोटमा रहेको स्व.अधिकारीको पूर्ण कदको सालिकमा माल्यार्पण गरेकी हुन्। उनले आफ्ना निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेललाई पराजित गरेकी थिइन् ।

भट्टराईसँगै निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य भिमबहादुर कार्की लगायत एमालेका नेता तथा कार्यकर्ताले विकास प्रेमी नेता स्व। रवीन्द्रको सालिकमा पुष्पार्पण गर्दै भावपूर्ण श्रद्धा सुमन अर्पण गरेका थिए। उनीहरूले स्व। अधिकारीले विकास, समृद्धि र नागरिकको सहज जीवनका लागि सोचका सपना पूरा गर्ने प्रयासमा आफूहरू रहने प्रतिबद्धता व्यक्त गरेका छन्।