अर्घाखाँचीमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ एमाले पहिलो दल

अर्घाखाँची । अर्घाखाँचीमा नेकपा एमाले पहिलो दल भएको छ । एक मात्र प्रतिनिधिसभा क्षेत्र र दुई प्रदेशसभा क्षेत्र रहेको अर्घाखाँची जिल्लामा एमालेले तीन पद नै आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो ।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेशसभामा एमालेकै चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे निर्वाचित भएका छन् ।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठूलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ । त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठूलो दल भएको छ ।