काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन जाने क्रममा आक्रमणमा परी काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेसहित ३६ प्रहरी घाइते भएका छन् । घाइतेमध्ये ३४ जनाको थापाथलीस्थित नर्भिक अस्पतालमा र २ जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । धेरै घाइतेको टाउकोमा चोट छ । उनीहरूमध्ये तीन जनाको भने आइसियुमा उपचार भइरहेको महानगरले जनाएको छ ।
सोमबार सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि त्यहाँबस्नेहरुले ढुंगामुढा गरेपछि सो क्षेत्र तनावग्रस्त बनेको थियो । वैकल्पिक व्यवस्थाविनै हटाउन थालेको भन्दै उनीहरुले महानगरको टोलीमाथि ढुंगामुढा गरेका हुन् ।
काठमाडौं महानगरपालिकाले आक्रमण गर्नेहरुलाई कारबाहीको माग गरेको छ । महानगर प्रहरीमाथि सांघातिक आक्रमणको नेतृत्व गर्ने तथा संलग्न हुने व्यक्तिहरुको नाम समेत खुलाई कारबाहीका लागि काठमाडौंस्थित महानगरीय प्रहरी परिसर टेकुमा पत्राचार गरेको हो ।
एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर (चुनावकै दिन) सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो ।















