शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन् । आइतबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो । मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ ।

जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ ।

आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूलाई प्रधानमन्त्री दाहालले बालुवाटारमा छलफल गरेका थिए। संसदीय समिति गठन गर्न आफू सकारात्मक रहेको प्रधानमन्त्रीको भनाइ रहेको कांग्रेसका नेताहरूले प्रतिक्रिया दिएका थिए।