रेशम चौधरीलाई सत्ता गठबन्धनमा सहभागी गराउने शीर्ष नेताको कसरत

काठमाडौँ — नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई भेट्न गठबन्धनका शीर्ष नेताहरू कारागार पुगेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले डिल्लीबजार कारागार पुगेर चौधरीलाई पालैपालो भेटेका हुन् ।

दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गरेका थिए । चौधरीसँगको कुराकानी नेताहरूले खुलासा गर्न नचाहे पनि सरकार बनाउन गठबन्धनलाई केही सिट अपुग हुने भएकाले उनीहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरेको स्रोतको भनाइ छ ।

उन्मुक्ति पार्टीले चौधरीको रिहाइ गर्नुपर्ने पहिलो सर्त राख्दै आएको छ । पार्टी अध्यक्ष एवं कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रञ्जिता श्रेष्ठले भने सरकारमा जानेरनजानेबारे टुंगोमा नपुगेको बताइन् । ‘यसबारे केही निर्णय भएको छैन,’ उनले भनिन् ।