नेपालमा पर्यटक आगमन प्रतिमहिना औसत ४९ हजार ६५६ जना पुगेको छ । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै जनाए अनुसार सन् २०२२ को नोभेम्बर महिनासम्म कुल ५ लाख ४६ हजार २१६ जना पर्यटक नेपाल आएका छन् ।
यसअनुसार प्रतिमहिना ४९ हजार ६५६ जना पर्यटक नेपाल आएको देखिन्छ । पछिल्लो ६ महिनायता हरेक महिनाजसो आगमन उत्साहजनक देखिन्छ ।
नोभेम्बर २०२२ को एक महिनामा मात्र ७२ हजार ६५३ जना पर्यटक नेपाल आएका छन् । यो सन् २०१९ को तुलनामा ५५.७६ प्रतिशत रिकभर हो ।
सन् २०१९ मा कोभिडको प्रभाव पर्यटनमा थिएन । सो वर्ष नोभेम्बर महिनामा मात्र १ लाख ३० हजार ३०२ जना पर्यटक नेपाल आएका थिए । अक्टोवर २०२२ मा भने ८५ हजार २२६ जना पर्यटक नेपाल आएको अध्यागमनको तथ्यांकले देखाएको छ ।













