माया लुहार हत्या प्रकरण : फरार सशस्त्र प्रहरी जवान पक्राउ

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सैलोडाकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका जवान भरत कोली पक्राउ परेका छन् । कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् ।

हत्या आरोप लागेका शिवनाथ गाउँपालिका–४ बस्ने २७ वर्षीय कोली घटनापछि फरार रहेका थिए । मृतक किशोरीका आफन्तले कोलीको नाममा किटानी जाहेरी दिएका थिए । मायाको गत बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको थियो ।

घटनाको नालीबेली

सैलोडाकी २१ वर्षीया माया लुहार र १५ वर्षीया नेहा लुहार गाउँकै अन्य दुईजना साथीसँग मंगलबार बिहान घरबाट निस्किए । लुगा सिलाउन उनीहरु पञ्चेश्वर गाउँपालिका–३ कुलाउ बजार गएका थिए । घरबाट कुलाउ पुग्न करिब डेढ घण्टाको पैदल यात्रा गर्नुपर्छ । माया र नेहा नाताले फुपु–भदैनी हुन् । उनीहरुसँगै गएका अन्य दुई जना बेलुका घर फर्किए । तर, माया र नेहा बेलुकासम्म घर फर्किएनन् ।

कुलाउमा इष्टमित्र बस्ने भएकाले उनीहरु त्यहीँ बसेको परिवारका सदस्यहरुले अनुमान गरे । तर, उनीहरु दोस्रो दिन बिहानसम्म पनि सम्पर्क नआएपछि परिवारले खोजी गरे । परिवारजनले इष्टमित्रलाई सम्पर्क गरे, तर केीि पत्ता लागेन । त्यसपछि परिवारका सदस्य र गाउँलेहरुले माया र नेहाको खोजीमा तीव्रता दिए । नेहालाई बुधबार दिउँसो गोठालोले पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सिमानास्थित बालाडाँगा फेला पारे ।

उनी घाइते अवस्थामा थिइन् । नेहाले मायाको घाँटी रेटेर हत्या भएको सुनाइन् । गाउँलेहरुले प्रहरीलाई खबर गरपछि नेहाले भनेकै ठाउँमा मायाको शव भेटियो । मायाको शव शिवनाथ गाउँपालका–६ शिवनाथ मन्दिर नजिकै भेटिएको हो । उनको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

माया जवलपुर माध्यमिक विद्यालय सैलोडामा कक्षा १२ र नेहा कक्षा ९ मा अध्ययनरत थिए । माया म्यादी प्रहरी पनि थिइन् । घाइते नेहाको अहिले उपचार भइरहेको छ ।