लमजुङको क्व्होलासोथर गाउँपालिका-८ घाम्राङका बिनबहादुर गुरुङले गाउँपारीको चौतारीमा उभिएर चर्को आवाजमा उर्दी गर्न थालेपछि गाउँले कान टाँठो बनाउँदै उनलाई सुन्न थाल्छन् । चौतारीको डिलबाट उनी गाउँमा भैपरी आएका नयाँ सुचना वा खबर सुनाउँछन् । उनी गाउँलेलाई खबर सुनाउने मान्छे अर्थात् कटुवाल । गाउँका बासिन्दालाई सामुहिकरुपमा खबर गर्न अहिले पनि घाम्राङ गाउँमा कटुवालको व्यवस्था रहेको छ ।
गाउँमा भइरहने भेला, बैठक वा कार्यक्रम, विवाह, पुटपुटे जस्ता शुभकार्यमा स्थानीयबासीलाई सहभागी गराउन कटुवालले नै खबर गर्छन् । गाउँको रितिथितीि अनुसार असिना बार्ने, बिउ बार्ने देखि विकास निर्माणका काममा सामुहिक काम गराउन, दाउरा काट्ने, दुःख-बिरामीमा सघाउ गर्ने लगायतका काममा पनि कटुवालले नै गाउँलेलाई खबर गर्दै आएको वडाध्यक्ष राजु गुरुङ बताउँछन् ।
गाउँभरीको खबर गर्ने आधिकारीक व्यक्ति नै गाउँको कटुवाल भएको उनले बताए । वडा कार्यालयबाट गर्ने कार्यक्रमदेखि गाउँमा हुने सबैजसो कामको खबर गर्ने जिम्मा कटुवालको जिम्मेवारीमा रहेको वडाध्यक्ष गुरुङले बताए । वर्षौंदेखि कटुवालको चलन चल्दै आएको र आफुले ४ वर्षअघि सो जिम्मेवारी सम्हालेको बिनबहादुरले बताए । घाम्राङगाउँ मात्रै नभई आसपासका घिचे, साल्मे, घाम्राङबेसी लगायतका गाउँमा पनि उनले नै खबर पुर्याउने गर्दछन् ।
गाउँलेलाई खबर गर्ने र त्यसैबाट आम्दानी गर्न पाउँदा आफुलाई सन्तोष लागेको उनको भनाइ छ । गाउँमा हुने कुनैपनि कार्यको खबर कटुवालबाटै आफुहरुले थाहा पाउने स्थानीय सन्तबहादुर परियार बताउँछन् । कटुवालले एकै पटकमा सबैलाई खबर पुर्याउने हुँदा कसैले थाहा पाउने वा कसैले नपाउने भन्ने समस्या नहुने उनको भनाइ छ ।
कटुवाल कराए बापत् उनले गाउँलेबाट सामुहिक रुपमा बार्षिक ४ मुरी धान, १ मुरी कोदो पाउँछन् । वर्षेनी गाउँमा थितिसभा बस्ने र सोही सभाले निर्णय गरेपछि मात्रै अन्नपात उठाइने चलन रहेको छ । काम परेको बेला कटुवाल कराउने र अन्य समयमा खेतीपाती गर्दै आएका उनले ११ जनाको परिवार धान्दै आएका छन् । गाउँपालिका अन्तर्गत थुप्रै गाउँमा अझैपनि कटुवालको चलन रहेकाले सम्भव हुँदासम्म सबैलाई हाते माइकको व्यवस्था गर्ने प्रस्ताव गाउँपालिकाको बैठकमा राख्ने उनले बताए ।
क्व्होलासोथर मात्रै नभई जिल्लाको सुन्दरबजार, राईनास नगरपालिका, दोर्दी, दूधपोखरी र मर्स्याङदी गाउँपालिका अन्तर्गतका ७५ वडा मध्येका अधिकाँश गाउँमा अहिले पनि सामुदायिक सुचना प्रवाहका लागि परम्परागत ढंगमै कटुवालको व्यवस्था छ ।