चितवन । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले चुनावपछि देशमा राजनीतिक र आर्थिक संकट एकैपटक आउन सक्ने खतरा देखिएको बताएका छन् ।
प्रेस चौतारी चितवनले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेस र एमाले बाहेक अन्य दलले सरकार बनाउँदा ५–६ वटा दल जम्मा गर्नुपर्ने जनमत आएकोले यसले राजनीतिक अस्थिरताको खतरा देखिएको बताए ।
प्रतिनिधि सभा चुनावमा चितवन १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका पाण्डेले निर्वाचनपछि सरकार गठन र दिगोपना तथा आर्थिक संकट एकसाथ देखिन सक्ने खतरा रहेको बताए ।
सरकारले केही वस्तुको आयातमा लगाएको प्रतिवन्ध हटाएको प्रशंग निकाल्दै एमाले उपाध्यक्ष पाण्डेले आयात रोक्दा राजश्व नउठ्ने र देश चलाउन नसकिने तथा आयात खुला गर्दा वैदेशिक मुद्रा सञ्चितीमा ठूलो दवाव पर्ने अवस्था आएकोले देश आर्थिक संकटतर्फ जान सक्ने बताए ।
५–६ वटा पार्टी मिलेर सरकार बनाउँदा सरकार टिकाउनमा नै प्रधानमन्त्रीको बढि ध्यान हुने हुँदा देशका अन्य समस्या समाधान गर्न नसक्ने अवस्था आउने बताए ।अबको प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवासहितको गठवन्धनको हुने धारणा राखे ।













