प्रतिनिधिसभामा तीन जोडीको प्रवेश

काठमाडौँ – मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनक मतपरिणाम अनुसार नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । भने नेकपा एमाले दोस्रो पार्टी बनेको छ । यो पटकको निर्वाचनको मतपरिणाम रोचक र अपेक्षा गरे भन्दा भिन्न भयो । दलहरुले समानुपातिक सांसदहरुको समेत टुंगो लगाएका छन् ।

दलहरुले समानुपातिक सांसदहरुको सूची टुंगो लगाइसक्दा तीन जोडी (श्रीमान्–श्रीमती) संसदमा प्रवेश गर्ने देखिएको छ । दुई जोडी प्रत्यक्ष तथा समानुपातिकतर्फबाट सांसद भएका हुन् भने एक जोडी सांसद भने प्रत्यक्षबाटै निर्वाचित भएका हुन् ।

प्रतिनिधिसभामा सांसदको रूपमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवा राणाको सांसदको रूपमा प्रवेश भएको छ । देउवा डडेलधुराबाट प्रत्यक्षमा निर्वाचित भएकी हुन् भने आरजु समानुपातिकबाट सांसद बनेकी हुन् । आरजु २०७० सालमा पनि सांसद भएकी थिइन् भने सांसदको रूपमा यो उनको दोस्रो प्रवेश हो । देउवा भने सांसदका रूपमा सातौँ पटक प्रत्यक्ष निर्वाचित हुँदै संसद्मा प्रवेश गर्न लागेका हुन् ।

यसैगरी संसद्मा नेकपा एमालेका सचिव समेत रहेका रघुवीर महासेठ नेतृ जुली महतो (महासेठ) को जोडी सांसदको रूपमा प्रवेश भएको छ । दुवै जना धनुषाबाट निर्वाचित भएका हुन् । जुली धनुषा ३ बाट लोसपाका नेता अनिल झालाई पराजित गर्दै सांसदमा निर्वाचित भएकी हुन् । यस्तै महासेठ कांग्रेसका महेन्द्र यादवलाई पराजित गर्दै धनुषा ४ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन् ।

यसैगरी जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राई सुनसरी–१ बाट प्रत्यक्षमा निर्वाचित भए । उनको पत्नी सुशीला श्रेष्ठ भने समानुपातिकमा सोही पार्टीबाट सांसद बनेकी छन् । प्रतिनिधिसभामा अशोक राई र सुशीलाको जोडी सांसदको रूपमा प्रवेश गर्ने भएका छन् । सुशील श्रेष्ठ प्राज्ञिक पृष्ठभूमिको महिला नेतृ हुन् ।

भने रोल्पाबाट माओवादी केन्द्रका वर्षमान पुन प्रतिनिधिसभामा निर्वाचित भए । उनकी पत्नी ओनसरी घर्ती भने प्रत्यक्ष चुनाव लडेर पराजित बनिन् । ओनसरी काठमाडौँ क्षेत्र नम्बर २ बाट पराजित भएकी हुन् । यसैगरी कांग्रेस नेता बालकृष्ण खाँण रुपन्देही–३ बाट प्रतिनिधिसभामा पराजित भए । तर, उनकी श्रीमती मञ्जु खाँण भने समानुपातिक सांसद बन्न सफल भइन् ।