काठमाडौँ – विश्वकप फुटबल अन्तरगत मंगलबार राति सेमिफाइनलको पहिलो खेलमा अर्जेन्टिना र क्रोएसिया भिड्दै छन्। अर्जेन्टिना नेदरल्याण्ड्सलाई पराजित गर्दै र क्रोएसिया ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा पुगेका हुन्।मंगलबार राति लुसैल स्टेडियममा हुने खेल अर्जेन्टिनाका दुई डिफेन्डरले गुमाउने भएका छन्। दोहोरो पहेँलो कार्डका कारण उनीहरुले महत्वपुर्ण खेल गुमाउने भएका हुन्।
मार्कस अकुना र गोन्जालो मोन्टियलले सेमिफाइनल गुमाउने भएका हुन्। अकुना अर्जेन्टिनाको पहिलो रोजाइका डिफेन्डर हुन्। उनी साउदी अरेविया बाहेकका सबै खेलमा सुरुवाती टिममा परेका छन्। अकुना २०१८ को विश्वकपमा पनि क्रोएसियाविरुद्ध खेलेका थिए।नेदरल्याण्ड्सविरुद्ध वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका उनले पनि पहेँलो कार्ड पाएका थिए। त्यसअघि मेक्सिकोविरुद्ध उनलाई पहेंलो कार्ड दिइएको थियो।
अकुनाले पोल्याण्डविरुद्ध पहिलो कार्ड खाएका थिए। नेदरल्याण्ड्सविरुद्धको खेलमा पनि पहेँलो कार्ड दिएपछि उनले पनि सेमिफाइनल गुमाउने पक्का भएको हो।नेदरल्याण्ड्स र अर्जेन्टिनाको खेलमा दुई अफिसियलसहित १८ वटा पहेंलो कार्ड र एउटा रेडकार्ड दिइएको थियो। जसमा अर्जेन्टिनाका ८ खेलाडीले पहेँलो कार्ड पाएका थिए। ती मध्ये ६ जना डिफेन्डर छन्। मिडफिल्डर परेडेस र फरवार्ड कप्तान लियोन मेस्सीले पनि पहेँलो कार्ड पाएका थिए।















