खुल्यो मौसमी कामदार पठाउने बाटो

काठमाडौं – लामो समयदेखि प्रतीक्षामा रहेका मौसमी कामदारलाई वैदेशिक रोजगारीमा पठाउने बाटो खुला भएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले कार्यविधि स्वीकृत गरेसँगै नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा जाने बाटो खुला भएको हो।

कार्यविधि स्वीकृत भएसँगै रोजगारीमा पठाउने बाटो खुला भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले जानकारी दिए। सरकारले बेलायत, क्यानडा, दक्षिण कोरियालगायत श्रमिकहरूका आकर्षक गन्तव्य मुलुकमा मौसमी श्रमिक पठाउने मन्त्री कुँवरले बताए।

विभिन्न मुलुकबाट मौैसमी कामदार माग भएको छ। कामदारहरू आफैँ प्रक्रिया पूरा गरी जाने गरेका थिए। साथै सरकारसँग कति नेपाली मौसमी कामदारको रुपमा विदेशिएका छन् तथ्यांकसमेत छैन।

म्यानपावर कम्पनीमार्फत् वैदेशिक रोजगारीमा जानका लागि न्यूनतम दुई वर्ष करार अवधि तोकिएको छ। तर व्यक्तिगत श्रम स्वीकृति लिएर जाँदा करार अवधि यति नै भनेर नतोकिएका कारण मौसमी कामदारका रूपमा पनि श्रम स्वीकृति लिएर कतिपय गन्तव्य मुलुक पुगिरहेको वैदेशिक रोजगार विभागले जनाएको छ।