देशलाई अस्थिरताको भुमरीमा फसाउने षडयन्त्र हुँदैछ : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाललाई अस्थिरताको भुमरीमा फसाउनका लागि प्रादेशिक संरचनाको विरोध हुने गरेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित नगरपालिका संघको ८ औँ राष्ट्रिय अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रादेशिक संरचनाको विरोध गर्नु देशलाई अस्थिरताको भुमरीमा फसाउने प्रयोगशाला बनाउने खेती भएको बताएका हुन् ।

उनले कहीँ पनि प्रदेश बिनाको शासन नभएको भन्दै संघीयतामा झनै प्रदेश आवश्यक रहेको बताए । उनले भने – ‘आज फेरि अर्को बहस के गर्न खोजिदैछ भने दुई तह भए पुग्छ प्रदेश चाहिँदैन भन्ने प्रकारको बहस चलाउन खोजिएको छ । कतै तपाईहरुलाई पनि यो त राम्रै हो कि जस्तो लागेको पनि हुनसक्छ । म तपाईहरुलाई के भन्छु भने कुन त्यस्तो मुलुक छ जहाँ राज्य र प्रदेश नभइकन शासन भएको छ ? एकात्मक मुलुकमा जानुहोस् । प्रदेश बिनाको, राज्य बिनाको एकात्मक मुलुक छ ? के चीनमा राज्य छैन ? ब्रिटेनमा राज्य छैन ? जुन एकात्मक राज्य हुन् । जहाँ संघीयता छैन । त्यहाँ पनि राज्य छन् त । प्रदेशहरू छन् त । संघीयताका मुलुकहरूमा त झन् प्रदेश अनिवार्य छन् ।’

उनले प्रशासनिक नेतृत्व परम्परावादी भएको बताउनु भयो । काठमाडौँ केन्द्रित प्रशासनिक मानसिकता नै संघीयता कार्यान्वयनको समस्या भएको उनको भनाई छ । महासचिव पोखरेलले सहरिया मध्यम वर्गका कारण मुलुकमा अस्थिरता निम्तिन लागेको बताए । उनले हरेक चुनावमा नयाँ नयाँ प्रयोग गरेर राष्ट्र बनाउन नसकिने जिकिर गरे ।