‘राप्रपाले पुराना पार्टीलाई संसद्‌बाटै खबरदारी गर्छ’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य पशुपति शमशेर जबराले राप्रपा पुराना पार्टीहरूलाई खबरदारी गर्न संसदमा आएको बताएका छन्।

सोमबार पार्टीको केन्द्रीय सचिवालयले आयोजना गरेको पार्टीबाट निर्वाचित सांसदहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै प्रतिनिधिसभा सदस्य जबराले राप्रपा पुराना पार्टीहरुलाई खबरदारी गर्न संसदमा आएको बताएका हुन्।

उनले देशलाई अहिलेकै ढंगमा चलाएर अगाडि बढाउन नसकिने बताए। ठूला पार्टीहरुसँग काम गर्ने शक्ति पनि नभएको उनले बताए। उनले राप्रपाले मुलुकलाई सञ्चालन गर्ने क्षमता संसदबाट देखाउने बताए।

जबराले भने, ‘नेपाल अहिलेको ढंगबाट चलेर अगाडि बढाउन सक्दैन। नेपाललाई जुन मौका अहिले हासिल छ त्यो मौकाअनुसार ठूला पार्टीबाट काम गर्ने शक्ति उनीहरुसित छैन। त्यो शक्ति नयाँ शक्ति परम्परा र पुरानो विश्वाससहित एउटा नयाँ नयाँ तरिकाबाट मुलुकलाई सञ्चालन गर्ने त्यो क्षमता संसदबाट देखाउन अब राप्रपा अगाडि बढ्छ। राप्रपा पुरानो विचार मात्र होइन। राप्रपा नयाँ जोश, नयाँ उत्साहसाथ संसदमा गएको छ। अहिले मुलुकवादको तर्फबाट, नेपाल राष्ट्रको तर्फबाट संसदमा पुराना पार्टीहरुलाई खबरदार गर्न राप्रपा आएको छ। त्यो खबरदार मामुली ढंगको हुँदैन।’

जबराले अन्य राजनीतिक पार्टीले भन्दा राप्रपाले धेरै काम गर्न सक्ने बताए। उनले आफूहरुले भोलिको नेपाल कस्तो हुनसक्छ भन्नेकुरा संसदमा प्रदर्शन गरेर देखाउने बताए।

Share