काँक्रो खेतीबाट राम्रो आम्दानी

नवलपरासी : हुप्सेकोट गाउँपालिका-१ जुकेपानीका किसान अहिले काँक्रो टिप्न र बिक्री गर्नमा निकै व्यस्त छन्। कृषि पकेट क्षेत्रका रूपमा परिचित जुकेपानी क्षेत्रका किसानलाई काँक्रो टिप्न भ्याइनभ्याइ छ।

व्यावसायिक काँक्रोखेती गरेका किसानको घरमा मेला जाँदाजाँदै काँक्रोखेती लगाउन सिकेका ठिस्मा रानाले अहिले काँक्रोबाट मनग्य आम्दानी गरेकी छन्।

१२ हजारको लगानीमा दुई वर्षअघि काँक्रोखेती सुरु गरेकी उनले पहिलो वर्ष खर्च कटाएर ६७ हजार आम्दानी गरिन्। “एक बाली धान लगाएर काँक्रो लगाउने गरेकामा अहिले तीन बालीसम्म काँक्रोमात्रै लगाउने गरेका छौ”, किसान रानाले भने।

सात हजारको लगानीमा अहिले उत्पादन सुरु भएको काँक्रोबाट ३३ हजार आम्दानी आइसकेको भन्दै उनले भने, “आफैंले मेहेनत गरेर कमाउने भएपछि निकै खुसी मिल्ने रैछ, ऋण खोज्न परेको छैन, अहिले परिवार पाल्न आम्दानीको स्रोत नै यही भएको छ।”

कृषि पकेट क्षेत्रका रूपमा परिचित हुप्सेकोट गाउँपालिकाको वडा १ मा किसान काँक्रो नलगाउने कमै मात्र भेटिन्छन्। आम्दानीको स्रोत कृषि भए पनि व्यावसायिकरूपमा आम्दानी लिन नसकेका किसान अहिले काँक्रोखेतीमा आकर्षित हुँदै आएका छन्। वर्षमा तीन बालीसम्म यहाँका किसानले काँक्रोखेती लगाउँदै आएका छन्।

धान बालीमात्रै लगाउँदै आएकी दिलमाया परियारले काँक्रोबाट मनग्ने आम्दानी गर्न सकिने थाहा पाएपछि चार वर्षदेखि व्यावसायिकरूपमा काँक्रोखेती गर्दै आएकी छन्।

यस क्षेत्रमा १५ कठ्ठामा काँक्रो लगाएका किसानले खर्च कटाएर वर्षमा रु छ लाखसम्म आम्दानी गर्दै आएका छन्। यहाँ उत्पादित काँक्रो व्यपारीले खरिद गरी काठामाडौं पठाउने गर्दछन्। किसान र व्यापारीबीच बिचौलिया नभए अझै राम्रो आम्दानी गर्न सकिने किसान बताउँछन्।

Share