काठमाडौं – नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीति आवश्यकताको सिद्धान्तले चल्ने बताएका छन्।मंगलबार दिउँसो काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका महतले राजनीति आयुको सिद्धान्तबाट नभइ आवश्यकताको सिद्धान्तले चल्ने भएकाले अहिलेको आवश्यकता शेरबहादुर देउवा संसदीय दलको नेतामा चयन भएकाे बताए।
अहिले कुनै पनि दलले बहुमत नल्याएको अवस्थामा परिपक्व नेतृत्वको आवश्यकता रहेको उनको भनाई छ। उनले देशले खोजेको नेतृत्व काँग्रेसले प्रस्तुत गर्ने भन्दै अहिले देशले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै चाहेको बताए।
उनले अन्य दलहरुसँग मिलेर सरकार बनाउनुपर्ने आवश्यकता भएकाले त्यो गुण, कला र अनुभव देउवासँग मात्रै रहेको बताए।
नेपाली काँग्रेस संसदीय दलको नेताका लागि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र महामन्त्री गगनकुमार थापाले उम्मेदवारी दर्ता गराएका छन्।














