काठमाडौं । २१ दिनदेखि रुसको आक्रमण झेलिरहेको युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले अमेरिकी संसदमा सम्बोधन गरेका छन्। जेलेन्स्कीले भिडिओमार्फत सम्बोधन सुरु गर्नुअघि सबै सांसदहरूले उभिएर ताली बजाउँदै सम्मान प्रकट गरेका थिए ।
अमेरिकी संसदलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले सहयोग र सद्भावका लागि अमेरिकी सरकार र नागरिकलाई धन्यवाद दिँदै रुससँग अन्तिम सेकेन्डसम्म पनि लडिरहने बताएका छन् । साथै उनलेकहिल्यै हार नमान्ने दृढता व्यक्त गरे ।
उनले युक्रेन अहिले आफ्नो देशको रक्षाका लागि मात्रै नभइ समग्र युरोप र विश्वभरका देशको सार्वभौमसत्ताका लागि पनि लडिरहेको बताएको बीबीसीले जनाएको छ । रुसी आक्रमणमा युक्रेनका धेरै बालबालिकाले ज्यान गुमाएको र लाखौँ विस्थापित भएकोमा भावुक हुँदै जेलेन्सीले यो विषय आफ्नो लागि सबैभन्दा ठूलो चिन्ताको विषय भएको बताएका छन् ।
अमेरिकासहितका देशले रुसमाथि लगाएको कडा प्रतिबन्धको स्वागत गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसमा रहेका आफ्ना सबै व्यवसाय र कम्पनी फिर्ता ल्याएमा थप दबाब बढ्ने पनि उल्लेख गरे ।
आफूले पटक–पटक युक्रेनलाई उडान निषेधित क्षेत्र घोषणा गर्न नेटोसँग माग गरे पनि यसको सुनुवाइ नभएकोमा असन्तुष्टि जनाउँदै जेलेन्स्कीले रुसी आक्रमणको प्रतिरोध गर्न थप जहाजहरू आवश्यक रहेको बताएका छन् ।