चितवनका वनमा लागेको आगोका कारण वायु प्रदुषण, हवाइ उडानसमेत प्रभावित

पछिल्ला दिनहरूमा चितवनसहित देशका विभिन्न शहरहरुमा वायु प्रदुषण बढेको छ ।

प्रि मनसुन सिजनमा यसपालि वर्षा नभएको र तराई क्षेत्रमा भइरहेको आगलागीले प्रदुषण बढाएको विज्ञहरु बताउँछन् । अमेरिकी अन्तरिक्ष संस्था नासाले आफ्नो वेवसाइटमा राखेका स्याटेलाइट तस्बिरहरूले चितवन र आसपासका जंगलमा भइरहेको आगलागीको असर हिमालसम्मै पुगेको देखाएको छ । सो तस्बिरमा चितवन राष्ट्रिय निकुञ्जसहित चितवनका प्रायः वन क्षेत्र, पर्सा राष्ट्रिय निकुञ्ज, नवलपरासी, बर्दिया, सुर्खेतलगायतका ठाउँमा ठूलो क्षेत्रमा आगालागी भइरहेको देखिन्छ ।

भरतपुर र पूर्वी चितवनको टिकौलीलाई जोड्ने पूर्व–पश्चिम राजमार्गको वन क्षेत्रमा दिउँसै आगलागी हुने गरेको छ। भरतपुरसँग जोडिएका सामुदायिक वनहरुमै आगलागी हुँदा पनि समयमै नियन्त्रणमा लिन कठिनाई हुने गरेको वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनाल बताउँछन्।

हवाई उडान प्रभावित
वायु प्रदूषणकै कारण मंगलबार चितवनबाट कुन पनि उडान हुन सकेन । भरतपुर विमानस्थलमा मंगलबार १२ वटा उडान तालिका थियो । तर साँझसम्मै प्रदूषणको मात्रा उत्तिक रहेपछि उडान हुन नसकेको विमानस्थलले जनाएको छ । मंगलबार बुद्ध एयरको ८ वटा उडान हुने तालिका थियो । बुद्ध एयर भरतपुरका प्रमुख भक्तबहादुर बस्नेतले भिजिविलिट कम भएपछि उडान हुन नसकेको बताए । मंगलबार यतिको ४ वटा उडान थियो ।

यस्तै बुधबार बिहान केहीबेर उड्न सहज हुने वातावरण बने पनि अहिले पुनः भिजिविलिट कम भएर उडान हुन नसकेको बुद्ध एयरका प्रमुख बस्नेतले बताए ।