युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ११ राजनीतिक दलका गतिविधि निलम्बन गर्न आदेश दिएका छन्। रूससँग सम्बन्ध राखेको भन्दै उनले प्रतिबन्ध लगाएका हुन्। यीमध्ये सबैभन्दा ठूलो दल ‘अपोजिसन प्लाटफर्म फर लाइफ’ हो। ४५० सदस्यीय युक्रेनी संसद्मा यो दलका ४४ सिट छन्। उक्त दलका नेता भिक्तर मेदभेदचुकको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग राम्रो सम्बन्ध रहेको छ । पुटिन मेदभेदचुककी छोरीका ‘गडफादर’ हुन्। प्रतिबन्धित सूचीमा येभनी मुरायेभको नेतृत्वमा रहेको नाशी पार्टी पनि छ।
यसैगरी पार्टी अफ शारिया‚ लेफ्ट अपोजिशन‚ यूनियन अफ लेफ्ट फोर्सेज‚ स्टेट‚ प्रोग्रेसिभ सोसियलिस्ट पार्टी युक्रेन‚ सोसियलिस्ट र भ्लादिमिर साल्दो ब्लक पनि उक्त सूचीमा छन्।
रूसले युक्रेनमा आक्रमण गर्नुअघि बेलायती अधिकारीले रूसले मुरायेभलाई युक्रेनको नेता बनाउन चाहेको दाबी गरेको थियो।
आइतबार बिहानै भिडियो सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘रूसले शुरु गरेको व्यापक युद्ध र रूससँग केही राजनीतिक दलको सम्बन्धलाई ध्यानमा राख्दै धेरै राजनीतिक दलका गतिविधिहरू मार्शल लको अवधिसम्मका लागि स्थगित गरिएको छ।’ राजनीतिक दलका नेताहरूले विवाद चर्काउन गरेका गतिविधि सफल नहुने उनले चेतावनी पनि दिए।
युक्रेनका कानुनमन्त्रीले उक्त निलम्बन तत्काल लागू भएको जानकारी दिएका छन्।
हाल रूस र युक्रेनबीच युद्ध भइरहेको छ। रूसी सेनाले युक्रेनका कैयौँ शहर नियन्त्रणमा लिएको छ भने विभिन्न शहरमा आक्रमण गर्दै आएको छ।