मोरङको लेटाङ नगरपालिका वडा नम्बर ५ मा आइतवार आक्रोशित समूह आक्रमणबाट प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भयो । उनले आज भन्दा ३ बर्षअघि नेपाल प्रहरी जवानमा जागिर खाएकी थिइन् । त्यसभन्दा पहिले लोक सेवा आयोगको परीक्षामा उनी असफ भएकी थिइन् । उनी परिवारकी एक्ली छोरी हुन् ।
मृतक उर्मिलाका मामाका छोरा विष्णु श्रेष्ठका अनुसार उनका दाजु पनि प्रहरी सेवामै छन् । दाजु भुवन असई पदमा मोरङमा कार्यरत छन् । खोटाङ माइती घर भएकी उर्मिलाको विवाह उदयपुरमा भएको विष्णुले बताए । उनको विवाह भएको लामो समय भएको छैन ।
श्रीमान् पनि प्रहरी सेवामै कार्यरत रहेको विष्णुले बताए । इलाममा कार्यरत उनी श्रीमतीको मृत्युको खबरपछि राति नै विराटनगर आइपुगेका छन् ।बहिनीको मृत्युपछि दाजु भुवन अर्थचेत अवस्थामा रहेको उनका सहकर्मीहरूले जनाएका छन् ।उर्मिलाका बुवाआमा छोरीको अन्तिम संस्कारका लागि विराटनगर आउँदै छन् । उनको शव कोशी अस्पतालमा राखिएको छ । मृतकका परिवार शोकमग्न अवस्थामा कोशी अस्पतालमा भेला भएका छन् ।कोही पनि बोल्न सक्ने अवस्थामा देखिन्नन् ।
होलीका दिन होली खेल्ने क्रममा घरमा आएका सामाजिक शिक्षाका विषयका शिक्षक ५६ वर्षीय मनोज पौडेलले आफूलाई यौनदुर्व्यवहार गरेको कक्षा ६ मा पढ्ने १२ वर्षीया छात्राले बताएकी थिइन । उक्त घटनाबारे शिक्षक र अविभावकको आइतबार साँझ बसेको बैठकमा स्थानीयले शिक्षकलाई बन्दी बनाएर आक्रमणको प्रयास गरेपछि नियन्त्रण गर्न परिचालन गरिएका सुरक्षाकर्मीमाथि आक्रोशित स्थानीयले आक्रमण गर्दा प्रहरी जवान श्रेष्ठको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए ।
श्रेष्ठलाई आक्रोशित भिडले छुरा प्रहार गरेको र उनको उपचारका लागि विराटनगर लैजाने क्रममा मृत्यु भएको दाहालले बताए । प्रजिअ दाहालका अनुसार आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्याँस र हवाई फायर गरेको थियो । त्यस क्रममा लेटाङ ८ का मिलन खड्का र आयुष लिम्बुलाई प्रहरीको गोली लागेको छ । अवस्था सामान्य रहेका उनीहरुको नोवेल शिक्षण अस्पतालमा उपचार भइरहेको दाहालले वताए ।
उत्तेजित भीडले पौडेलसहित अन्य शिक्षकलाई पनि बन्धक बनाएर आक्रमण गर्ने प्रयास गर्दा स्थितीलाई नियन्त्रण गर्न पुगेका प्रहरीमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । त्यसक्रममा थप १६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ दाहालले वताए । उनले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।