कसैको मत छ, ‘मासुले स्वास्थ्यमा हानि गर्छ, यो स्वास्थ्यमैत्री खानेकुरा होइन, रोगको स्रोत हो ।’ तर मासु त्यस बेला हानिकारक बन्छ, जब सही किसिमको मासु छनोट गर्न सकिँदैन, सही ढंगले भण्डारण गर्न सकिँदैन, सही ढंगले पकाउन जानिदैन, सही ढंगले खान जानिदैन । यदि सही ढंगले, सही मात्रामा मासु सेवन गर्ने हो भने त्यसले हानि होइन, फाइदा गर्छ ।
विशेष गरी शरीरमा सजिलै सोसिन सक्ने उच्च गुणस्तरको प्रोटिन, केही भिटामिन तथा खनिजका लागि मासु उत्तम खानेकुरा हो । मासुमा प्रोटिन, चिल्लो पदार्थ, भिटामिन, खनिज पदार्थ र पानीको मिश्रण रहेको हुन्छ । जसको प्रयोगले शरीरलाई फाइदा पुर्याएको हुन्छ । तर, उसिनेको मासु प्रयोग गर्दा स्वास्थ्यका लागि बढी हितकर हुन्छ । उसिनेको मासु खाँदा अनावश्यक चिल्लो पदार्थबाट बच्न सकिन्छ । तर मासुको स्वच्छता र खाने मात्रा तथा तरिकामा उचित ध्यान नपुग्दा फाइदाभन्दा समस्या बढी निम्तिइरहेको पनि हुन्छ।
मधुमेह, उच्च रक्तचाप, मिर्गौलाको समस्या, कोलेस्ट्रोल बढी भएमा बोसो नभएको मासु प्रयोग गर्दा राम्रो हुन्छ । सकभर रातो मासु कम खानुपर्छ । सेतो मासु भने स्वास्थ्यका लागि राम्रो मानिन्छ । तुलनात्मकरूपमा खसी, सुँगुर, राँगाको भन्दा कुखुराको मासु र माछा प्रयोग गर्नु बढी श्रेयष्कर हुन्छ । सकेसम्म बोसो निकालेर मात्र मासुको प्रयोग गर्नु राम्रो हुन्छ ।
माछामासु पौष्टिक दृष्टिकोणले हाम्रो लागि जति फाइदाकर छ सूक्ष्म जीवको लागि पनि त्यति नै फाइदाकर हुन्छ । हाम्रो वरिपरि, हावामा, हाम्रो हात, शरीरमा खर्बौको संख्यामा त्यस्ता जीवाणुहरू हुन्छन् । तिनीहरूका लागि मासु अति उत्तम पोषिलो खाना हो । त्यस्ता जीवाणुले सजिलै मासुलाई संक्रमण गर्न सक्छन् र छिटो कुहिन्छ । अझ फोहोर ठाउँमा काटेको छ, राम्ररी तापक्रम मिलाएर राखेको छैन भने मासु झनै छिटो कुहिन्छ । फ्रिजमा राखेर, सुकुटी बनाएर, हल्का उसिनेर बोसोमा डुबाएर राख्दा केही दिनका लागि खानयोग्य हुन सक्छ ।
नेपालमा मासुको स्वच्छताका लागि ऐन कानुन छ तर यसको प्रभावकारिता करिब शून्य छ । पशु वधशाला तथा मासु जाँच ऐन २०५५ मा मासु पसल सञ्चालन गर्दा काट्ने ठाउँमा टायल हुनुपर्ने, काटेको मासु फ्रिजमा राख्नुपर्ने, स्थानीय निकायको इजाजत लिएर मात्र मासु बेच्नुपर्ने र वधशालामा बाहेक अन्य स्थानमा पशुवध गर्न नहुने व्यवस्था छ ।
त्यस्तै, मासु काट्न तामा वा क्याडमियमको धातुका हतियार, पालिस र इनामेल लगाएका भाँडा वा हतियार, सिसाका भाँडा वा हतियार प्रयोग गर्न नहुने लगायतको व्यवस्था छ । ऐनअनुसार मासुमा पानी छर्कन वा डुबाउन पाइँदैन । मासु झुन्ड्याउँदा छाना, भित्ता, खम्बा आदि ठाउँ नछुइने गरी राख्नुपर्छ । तौलने ढक–तराजु अन्य वस्तुसँग लसपस नगरेको हुनुपर्दछ । मासु राख्ने टेबुल वा दराज जमिनभन्दा कम्तीमा ५० सेन्टिमिटर उचाइको हुनुपर्दछ । मासु पसल खोला, खोल्सा र पानी जम्ने ठाउँभन्दा टाढा हुनुपर्दछ । मासु काट्ने अचानोबाहेक अरु काठको हुन नहुने व्यवस्था छ ।
विकसित मुलुकमा अचानोसमेत काठको हुँदैन । तर हामीकहाँ मासु पसलहरूको भुइँदेखि भित्तासम्म, अचानोदेखि टेबुलसम्म काठकै प्रयोग हुन्छ । काठमा सूक्ष्म जीवहरूको भार बढी हुने हुँदा ती जीवाणु सजिलै मासुमा सर्न सक्छन् । पशुपक्षी वध गर्नुपूर्व त्यसको स्वास्थ्य अवस्था ठीक भए÷नभएको यकिन गरेर मात्र वध गर्नुपर्दछ । यदि पशु बिरामी छ भने त्यसको मासु खाँदा असर पर्न सक्छ ।
परीक्षणबाट मासु खान योग्य देखिएमा मात्र खानयोग्य हुन्छ । वध गरिने पशु ओसारपसार गर्ने साधन, वधस्थल र मासु पसलभन्दा ३० मिटर टाढा राख्नुपर्दछ । हाम्रो संविधानले पनि उपभोक्तालाई स्वच्छ खाना खान पाउने अधिकार मौलिक हककै रूपमा परिभाषित गरेको छ । बजारमा बेचिने मासु स्वच्छ भएको ग्यारेन्टी गर्ने दायित्व सरकारका सबै निकायहरू विशेषगरी स्थानीय सरकारको हो । यसमा उपभोक्ताले पनि सहयोग गर्नुपर्दछ । मांसाहारी भोजन राम्रो कि शाकाहारी भन्ने विषय विवादमा आइरहने गर्दछ । यसबारेमा सबैका आ–आफ्नै खालका तर्कहरू भेटिन्छन् । तर हामी व्यक्तिको तर्कसँग होइन अनुसन्धानले पुष्टि गरेका वास्तविक र आधिकारिक कुराको नजिक हुन जरुरी छ । हामीकहाँ त संस्कृतमा विद्यावारिधी गरेर डाक्टर भएकाहरूले खानाका बारेमा कुरा गरिरहेको देखिन्छ ।खानासम्बन्धी विषय व्यक्तिको जीवन मरणसँग जोडिएको हुनाले यसबारेमा अनुमान र सुनेका भरमा गरिने प्रचार खतरनाक हुन्छ । यस्ता खतरा कम गर्न दशौं आधिकारिक अनुसन्धानले पुष्टि गरेका कुरालाई आधार बनाएर यस क्षेत्रका विज्ञहरूबाट मात्र खानासम्बन्धी सार्वजनिक टिप्पणी गर्ने संस्कारको विकास हुन जरुरी देखिन्छ ।
जहाँसम्म शाकाहारी, मांसाहारीको कुरो छ । यसमा संसारभर मत बाझिरहेकै छ । हो, मासु खाने तरिका, मात्रा र स्वच्छतामा ध्यान नदिँदा मासुले हानि नै गर्दछ तर यसको अर्थ मासु खानै हुँदैन भन्ने होइन । स्वच्छ माछा, मासु, अण्डाले पोषणका दृष्टिले छुट्टै महत्व राख्छ । अहिलेसम्मको अनुसन्धानलाई हेर्दा अति मांसाहारी र पूर्ण शाकाहारी दुवै गलत हो । मासुविना भागै नबस्ने पनि गलत हुन्, माछामासु छुनै हुँदैन भन्ने पनि गलत हुन् । पूर्ण शाकाहारी भोजनका कारण भिटामिन बी १२ लगायतका भिटामिन, मिनरलजस्ता कतिपय पोषक तत्वको कमी हुन सक्छ । केही अनुसन्धानले पूर्ण शाकाहारीमा डिप्रेसनको सम्भावना बढी हुने दाबी गरेका छन् । उता मांसाहारी भोजनको अधिक उपभोगले युरिक एसिड बढ्ने, रगतमा बोसोको मात्रा बढ्ने, मुटु रोगजस्ता विभिन्न दीर्घकालीन रोग लाग्ने, रातो मासु र प्रशोधित मासु धेरै खाँदा क्यान्सरसम्म हुन सक्ने पनि अैाँल्याइएको छ । त्यसैले सही किसिमको मासु खानुचाहिँ स्वस्थ्यका लागि हितकर हुन्छ ।