इलाममा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

इलामको माई नगरपालिका–८, माइखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ वर्षीय मिङसुहाङ लिम्बू र आठ वर्षीय किस्मन आङदेम्बे रहेका छन् । 

उनीहरू बिहीबार दिउँसो माइखोलामा पौडी खेल्न गएका थिए । अबेरसम्म घर नफर्केपछि खोजी गरिएको थियो ।  प्रहरी टोली र स्थानीयले मिङसुहाङलाई पानीमा डुबी घाइते अवस्थामा र किस्मनलाई मृत अवस्थामा फेला पारेको थियो । 

घाइते मिङसुहाङलाई उपचारको लागि बी एन्ड सी अस्पताल झापा लैजाने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।